ट्रेन्डिङ

मधेशकेन्द्रित तीन दलबीच नयाँ मोर्चाबन्दीको तयारी, जसपाको नेतृत्वमा छलफल तीव्र

वीरगन्ज । मधेशका राजनीतिक दलहरूबीच नयाँ गठबन्धन बनाउने तयारी भइरहेको छ।

हाल ७ दलीय संघीय लोकतान्त्रिक मोर्चा क्रियाशील रहेको अवस्थामा जनता समाजवादी पार्टी (जसपा)ले अन्य दलहरूसँग कार्यगत एकताका लागि छलफल तीव्र पारेको छ। यसले मधेशको राजनीतिमा नयाँ समीकरण बन्ने सम्भावना बढाएको छ।

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी (रामुपा) सँग जसपाले विशेषगरी सहकार्यका लागि कुराकानी गरिरहेको छ। स्रोतका अनुसार यी तीनै दलबीच एकता वा अलग–अलग कार्यगत एकता हुनसक्नेबारे प्रारम्भिक चरणका छलफलहरू भइसकेका छन्। जसपाका एक नेताले दिएको जानकारीअनुसार यस विषयमा थप निर्णय लिन आज बालकुमारीस्थित जसपाको पार्टी कार्यालयमा कार्यकारिणी समितिको बैठक बस्दैछ।

जसपाका महासचिव इस्तियाक राईले लोसपा र रामुपा मात्र नभई अन्य विचार र एजेन्डा मिल्ने दलहरूसँग पनि छलफल चलिरहेको बताएका छन्। उनले पार्टीले कार्यगत एकता गर्ने निर्णय गरिसकेको र आजको बैठकमा यस विषयमा विस्तृत छलफल हुने जानकारी दिए। यस बैठकको मुख्य एजेन्डा नै विभिन्न दलहरूसँग भइरहेको प्रयासबारे छलफल गर्ने रहेको छ।

मधेशको राजनीतिमा एजेन्डा र विचार मिल्ने दलहरू एकजुट भएर अगाडि बढ्ने प्रयासले मधेशी जनताका मुद्दाहरूलाई थप बल पुग्ने विश्वास गरिएको छ। यद्यपि, यो नयाँ मोर्चाबन्दीले कस्तो रूप लिन्छ र मधेशको राजनीतिक परिदृश्यमा यसको कस्तो प्रभाव पर्छ, त्यो भने आगामी दिनमा नै स्पष्ट हुनेछ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै