ट्रेन्डिङ

बचत बैंकबाट अनियमित भएको बचतकर्ताको रकम फिर्ता

जनकपुरधाम । विगतमा अनियमितता भएको हुलाक बचत बैंकको रकम ७४६ जना बचतकर्ताले फिर्ता पाउने भएका छन् ।
हुलाक कार्यालय मातहतमा संचालित हुलाक बचत बैंकको रकमसहित एक कर्मचारीले अनियमितता गरी फरार भएपछि सयौँ बचतकर्ता मर्कामा परेका थिए । जनकपुरधाममा मंगलबार हुलाक निर्देशनालय धनुषाका प्रमुख जगदीश अर्यालले पत्रकार सम्मेलन गरी बचतकर्ताले अनियमित भएको सो रकम फिर्ता हुने बताए ।

हुलाक सेवा विभागको टोलीले पेश गरेको प्रतिवेदनलाई मुख्य आधार बनाइ निर्देशनालयद्वारा ७४६ जना बचतकर्ताको नियमानुसार दायित्व रकम यकिन गरि २०८१ माघ ४ मा माग दाबी तथा छुट नाम समावेशको लागि ३५ दिने सूचना प्रकाशित गरेको उनले स्पष्ट पारे ।

हुलाक बचत बैंकको नाममा रहेका तीन वटा बैंकहरुमा रहेको मौज्दात रकम हिमालयन बैंकमा एकीकृत गरेको उनले बताए । बैंकसंग भएको सम्झौता बमोजिम कुल दायित्व रकम १ करोड ४८ लाख ८४ अजार ४५१ रुपैयाँ ७६ पैसाबाट ऋण लगानीबाट उठ्न बाँकी रकम १८ लाख ८१ हजार २५० रुपैयाँ घटाई १ करोड ३० लाख ३ हजार २०१ रुपैयाँ ७६ पैसा मंगलबार राष्ट्रिय वाणिज्य बैंकमा पठाइएको उनले बताए ।

हुलाक बचत बैंकको रकम लिइ फरार रहेको सुनिल दास पक्राउ परेको उनले बताए । यसै कार्यालयका कर्मचारी दासले बचतकर्ताको रकम अनियमितता गरी फरार थिए । उनलाई लामो समयपछि प्रहरीले पक्राउ गरेको छ । बचतकर्ताले जम्मा गरेका रकम फिर्ता हुने र सोको प्रक्रिया आफूहरुले अघि बढाइसकेको कार्यालय प्रमुख अर्यालले बताए ।

बचत बैंक राष्ट्रिय वाणिज्य बैंकमा हस्तान्तरण भएको सकेकोले बचतकर्ताको रकम अब कुनै पनि हालतमा नडुब्ने समेत उनले बताए । विभागबाट टोली आइ बचत बैंकको रकम हिनामिना सम्बन्धी प्रतिवेदन तयार गरी हुलाक सेवा विभागमा पेश गरेको उनले बताए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै