जनकपुरधाम । धनुषाको नगराईन नगरपालिकामा मेयर र उपमेयरबीचको विवाद साम्य भएको वर्षदिन नवित्दै फेरि विवाद चुलिएको छ ।
केही महिनादेखि मेयर र उपमेयर बीचको विवाद जारी रहँदा निर्धारितक समयमा नगराईन नगरपालिकाको नगर सभा समेत हुन सकेको छैन । नगराईन नगरपालिकाकी उपमेयर राधादेवी यादवले कांग्रेसबाट निर्वाचित मेयर विनयकुमार यादवले बहुमत कार्यपालिका सदस्यहरुलाई बेवास्ता गरी मनोमानी गरेको आरोप लगाउँदै आफूहरुले बैठक बहिष्कार गरेको बताइन् ।
मंगलबार नगराईनमा पत्रकार सम्मेलन आयोजना गर्दै उपमेयर राधादेवी यादवले मेयरले तानाशाही ढंगले पालिका चलाउन खोजेपछि आफूहरुले सोको विरोध गरेको स्पष्ट पारिन् । उनले मेयरले आफ्नो अधिकारमा समेत हस्तक्षेप गरेको आरोप लगाइन् ।
उनले विगतमा भएको स्थानीय तह सञ्चालन सम्बन्धी ऐन २०७४ कार्यान्वयन गर्न र अहिलेसम्म मनोमानी ढंगले मेयरले आफ्नो अनुकूल बनाएको कार्यविधि संशोधन हुने भनिएको गरिएको सहमति कार्यान्वयन नभएसम्म आफूहरुले पालिकाको सम्पूर्ण कामकाज ठप्प पार्ने बताइन् ।
उपमेयर राधादेवी यादवले सामूहिक रुपमा मेयरले आफूहरुसंग गरेको सहमति लागु नगरी स्थानीय तहको सरकार सञ्चालन सम्बन्धी ऐन २०७४ कार्यान्वयन नगरी पुरानै कार्यविधि संशोधन गर्न खोजेपछि आफूहरुले विरोध गरेको बताइन् ।
उपमेयर राधादेवीले स्थानीय सरकार ऐन सञ्चालन ऐन, २०७६ खारेज गरी स्थानीय सरकार २०७४ लागू नभएसम्म नगरसभा हुन नदिने भन्दै विरोध जनाएपछि अहिलेसम्म नीति तथा कार्यक्रम एवं बजेटसभासमते हुन सकेको छैन ।
उनले आफ्नो माग सम्बोधन हुने अवस्थामा मात्रै नगरसभालगायतका काम अगाडि बढ्ने अडान लिएकी छन् । आन्दोलनका कारण अहिले नगरपालिकाको कामकाज ठप्प छ । सो पत्रकार सम्मेलनमा नगराईन नगरपालिकाका उपमेयर राधादेवी यादव, वडा नम्बर ५ का वडाध्यक्ष रामनारायण मुखिया, वडा नम्बर ६ का वडाध्यक्ष ललित साह, वडा नम्बर ८ का वडाध्यक्ष संजय राउत, वडा नम्बर ९ का वडाध्यक्ष प्रमोदकुमार राउत र एमालेबाट निर्वाचित ८ जना कार्यपालिका सदस्यलगायतकाहरुको उपस्थिति रहेको थियो ।
यता मेयर विनय कुमार यादवले नगरसभा गर्नको लागि आफूहरु केही बजेट संचालनसम्बन्धी कार्यविधि संशोधन बाहेक अन्य विभिन्न विषयमा सहमति गर्न सकिने बताए । उनले विगतमा समेत उपमेयर राधादेवी यादवले करिब नौ महिनासम्म नै नगराईन नगरपालिकालाई बन्धकी बनाएको बताउँदै यसपाली पनि बन्धकी बनाएर नगरको सम्पूर्ण आर्थिक कारोबार ठप्प पार्न खोजेको आरोप लगाए ।
मेयर यादवले उपमेयरले पालिकाको कामकाज ठप्प पारेर जनतालाई भ्रममा पार्न खोजेको आरोपसमेत लगाए । आज हुने भनिएको कार्यपालिका बैठक नेकपा एमालेबाट निर्वाचित भएका जनप्रतिनिधिहरु सहभागी नभएपछि बैठक स्थगित गरिएको छ । नगराईन नगरपालिकामा मेयर र उपमेयरको विवादका कारण नीति तथा कार्यक्रम एवं बजेटसमेत समयमा आउन सकेको छैन ।
विगतमा पनि मेयर र उपमेयरबीचको विवादको कारण करिब ९ महिनासम्म नगराईन नगरपालिका ठप्प रहेको थियो । स्थानीय राजनीतिक दल, स्थानीय युवा अभियन्ताहरुको पहलमा लामो प्रयासपछि नगराईन नगरपालिकामा लगाइएको ताल्चा खुलेको थियो ।
सरकारी हाकिम कांग्रेसको सदस्य
नगराईन नगरपालिका वडा नम्बर ८ का संजय राउतले नगराईन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामगुलाम कर्ण नेपाली कांग्रेसको सदस्य रहेको आरोप लगाएका छन् । नगराईनमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा वडाध्यक्ष राउतले स्वास्थ्य फाँटका कर्मचारीलाई जवर्जस्ती रुपमा कांग्रेसका नेताहरुले भनसुन गरी नगरपालिकाको कार्यालयकै प्रमुख प्रशासकीय अधिकृत कर्णलाई बनाएको भन्दै आपत्ति जनाए ।
शनिबार नगराईनमा भएको कांग्रेसको क्षेत्रीय बैठकमा उपस्थित भएर पालिका र एमालेको गतिविधिबारे रिपोर्टिंग गरेको आरोपसमेत उनले लगाए । उनले कांग्रेसी भएकै कारण कांग्रेसबाट निर्वाचित मेयर विनयकुमार यादवले आफ्नो अनुकूलको कर्मचारी ल्याएर नियम विपरीत प्रमुख प्रशासकीय अधिकृत बनाएको बताए ।
तर नगराईन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामगुलाम कर्णले आफू कुनै पनि राजनीतिक दलको सदस्यता नलिएको प्रतिक्रिया दिए । उनले नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, जसपालगायत कुनै पनि पार्टीको साधारण सदस्यता नलिएको र साधारण सदस्यसमेत नरहेको दाबी गरे ।
कांग्रेस निकट नेपाल स्वस्थ्यकर्मी संघ धनुषाको जिल्ला अध्यक्ष रहेको स्पष्ट पारे । सोही हैसियतमा आफू शनिबार भएको कांग्रेसको बैठकमा स्वास्थ्यकर्मीहरुको अवस्था र गतिविधिबारे सोधखोज गरी आमन्त्रित गरेपछि आफू सहभागी भएको प्रमुख प्रशासकीय अधिकृत कर्णले प्रस्ट्याए ।