वीरगन्ज । श्रावण महिनाको अवसरमा काठमाडौंको सुन्दरीजलस्थित गोकर्णेश्वर महादेव मन्दिरमा बोलबम काँवरियाहरूको निःशुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न भएको छ।
आम उद्योग वाणिज्य संघ र भोलेनाथ काँवरिया संघको संयुक्त आयोजनामा यो शिविर सञ्चालन गरिएको थियो।आम जनता पार्टी (आजपा) निकट आम उद्योग वाणिज्य संघका अध्यक्ष साजन जयसवालका अनुसार, शिव भक्तजनहरूको स्वास्थ्यलाई ध्यानमा राखेर यो धार्मिक र सामाजिक कार्य गरिएको हो। शिविरमा डा.सुनिल चौधरीको टोलीले सयौँ काँवरियाहरूको स्वास्थ्य जाँच गरेको थियो।
भोलेनाथ काँवरिया संघका अध्यक्ष राजकुमार साह कलवारले भक्तजनहरूले स्वास्थ्य शिविरबाट लाभ लिएको बताए। शिविरलाई सफल बनाउन जयसवाल र कलवारका साथै कार्यकारिणी अध्यक्ष चुनुलाल जयसवालले पनि विशेष सहयोग गरेका थिए। यस प्रकारको शिविरले धार्मिक कार्यक्रममा सहभागी हुने भक्तजनहरूको स्वास्थ्य सुरक्षामा सहयोग पुग्ने विश्वास गरिएको छ।