ट्रेन्डिङ

उपराष्ट्रपतिबाट फर्किएका नन्दबहादुर पुनलाई माओवादीमा छैटौँ वरीयता

वीरगन्ज । दुई कार्यकाल उपराष्ट्रपतिको जिम्मेवारी पूरा गरी पार्टी राजनीतिमा फर्किएका नन्दबहादुर पुनलाई नेकपा (माओवादी केन्द्र) ले पार्टीभित्र छैटौँ वरीयतामा राखेको छ।

माओवादीले हालै आफ्नो वेबसाइट अपडेट गर्दै पुनको वरीयता तोकेको हो। पुनलाई यसअघि नै उपाध्यक्षको जिम्मेवारी दिएर पार्टीको सक्रिय राजनीतिमा फर्काइएको थियो। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को जोडबलमा पुन पार्टीमा फर्किएको बताइएको छ, जसले जनयुद्धकालदेखि नै प्रचण्डसँग नजिक रहेर काम गर्दै आएका थिए।

पार्टीभित्र जनार्दन शर्मा र वर्षमान पुन जस्ता उपमहासचिवहरूको दबाब बढेपछि प्रचण्डले आफूनिकट पुनलाई अगाडि ल्याएको चर्चा छ। हालै सम्पन्न स्थायी कमिटी बैठकमा शर्मासँग प्रचण्डको अन्तरसंघर्ष सतहमा आएको थियो, जहाँ पुनले प्रचण्डको समर्थन गर्दै शर्माको चर्को आलोचना गरेका थिए।

पार्टीको वरीयता क्रममा अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठपछि उपाध्यक्षहरू कृष्णबहादुर महरा, अग्निप्रसाद सापकोटा र पम्फा भुसाल छन्। त्यसपछि छैटौँ नम्बरमा नन्दबहादुर पुनको नाम राखिएको छ। सभामुखको भूमिका निभाएर फर्किएका महरा र सापकोटालाई उपाध्यक्ष पद दिइएको थियो।

पार्टीमा पुन र नेसपाबाट भित्रिएका गंगानारायण श्रेष्ठलाई थप गरेपछि स्थायी कमिटीको संख्या ४६ पुगेको छ। श्रेष्ठलाई भने २३ औं वरीयता दिइएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै