कलैया । बारास्थित यातायात व्यवस्था कार्यालय कलैयाले पछिल्लो आर्थिक वर्ष २०८१/८२ मा राजस्व संकलनमा ऐतिहासिक सफलता हासिल गरेको छ।
कार्यालयले अघिल्लो वर्षको तुलनामा करिब तीन गुणा बढी राजस्व संकलन गर्न सफल भएको हो। कार्यालयका प्रमुख अविन्दर दासका अनुसार, आर्थिक वर्ष २०८०/८१ मा तीन करोड ४७ लाख ४५ हजार ३६ रुपैयाँ राजस्व उठेको थियो। तर, गत आर्थिक वर्ष २०८१/८२ मा यो रकम बढेर ९ करोड ९३ लाख ८४ हजार ४ सय ९६ रुपैयाँ पुगेको छ।
यो वर्ष सवारी साधन करबाट मात्रै चार करोड ४६ लाख ८१ हजार ५४ रुपैयाँ संकलन भएको छ। अघिल्लो वर्ष यो रकम दुई करोड १३ लाख ५९ हजार २१३ रुपैयाँ मात्र थियो। चालक अनुमतिपत्र तथा सवारी दर्ताबाट चार करोड ८५ लाख १६ हजार ७२६ रुपैयाँ आम्दानी भएको छ, जुन अघिल्लो वर्षको एक करोड १८ लाख ९१ हजार १० रुपैयाँभन्दा निकै धेरै हो।
यसका अतिरिक्त, अन्य प्रशासनिक सेवा शुल्कबाट ३० हजार र यातायात क्षेत्रबाट ६० लाख ८९ हजार ८० रुपैयाँ आम्दानी भएको कार्यालयले जनाएको छ।