वीरगन्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले आफ्नो परिसरलाई हराभरा बनाउने उद्देश्यले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।
कार्यालय परिसरलाई सुन्दर र वातावरणमैत्री बनाउने यो अभियानमा आँप र लिच्चीका ५५ वटा बिरुवा रोपिएको छ।
प्रमुख ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्टको नेतृत्वमा भएको यस कार्यक्रमले प्रहरी कार्यालयको सौन्दर्य मात्र नबढाएर सर्वसाधारणलाई पनि शान्त र स्वच्छ वातावरण प्रदान गर्ने लक्ष्य लिएको छ। ‘यो वृक्षारोपणले हाम्रो कार्यालयलाई सुन्दर बनाउनुका साथै वातावरणीय सन्तुलनमा पनि महत्वपूर्ण योगदान दिनेछ,’ इन्स्पेक्टर भट्टले भने।
यस कार्यक्रममा ग्रीनसिटी सामुदायिक प्रहरी, आदर्शनगरका अध्यक्ष जय प्रकाश खेतानले बिरुवा उपलब्ध गराएर सहयोग गरेका थिए। यो पहलले प्रहरी र स्थानीय समुदायबीचको सहकार्यलाई पनि अझै बलियो बनाएको छ।
वृक्षारोपण कार्यक्रममा ट्राफिक प्रहरी प्रमुख भट्टका साथै प्रहरी वरिष्ठ नायब निरीक्षक गुणनिधि खकुरेल र अन्य प्रहरी कर्मचारीहरूको पनि सक्रिय सहभागिता थियो।
कार्यालयले रोपिएका बिरुवाहरूको नियमित हेरचाह गरी यस अभियानलाई सफल बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। यो पहलले जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सालाई एक नागरिकमैत्री र वातावरणमैत्री संस्थाका रूपमा स्थापित गर्न मद्दत पुर्याउने विश्वास गरिएको छ।