ट्रेन्डिङ

पर्सा प्रहरीको अप्रेसन ‘कर्डन’ : श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

वीरगन्ज । पर्सा प्रहरीले आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमानलाइ पक्राउ गरेको छ । प्रहरीले चलाएको अप्रेसन कर्डनमार्फत आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा जिराभवानी गाउँपालिका वडा नम्बर ५ शंकरसरैया बस्ने ३२ वर्षका जितेन्द्र माझी मुसहर छन् । उनले घरायसी विवादका कारण आफ्नै श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ।

अस्थायी प्रहरी पोष्ट शंकरसरैयाबाट प्रहरी सहायक निरिक्षक बिकाउ साहको कमाण्डको टोलीले उनलाई ‘घेराबन्दी’ गरेर पक्राउ गरेको हो ।

साउन १७ गते अर्थात् शनिबार प्रहरीलाई फोन आयो । फोन स्थानीयको थियो, जहाँ भनियो – ‘जितेन्द्रले मादक पदार्थ सेवन गरेर आफ्नै श्रीमती २४ वर्षकी असपतलीया देवी मुसहरलाई हात, मुक्का र लठ्ठीले घाँटीमा प्रहार गरी मारे ।’

घटनाबारे नजिकैका प्रहरी युनिटहरुलाई समेत जानकारी गराई ‘अलर्ट’ गराईयो । पर्सा प्रहरीका डिएसपी किशोर लम्साल भन्छन्, ‘घटनापछि सिमानाकाबाट जितेन्द्र भाग्न सक्थे । त्यहि कारण उनी उम्कन सक्ने चारैतर्फका सीमा क्षेत्रहरुमा ‘कर्डन’ अपरेशनमार्फत उनलाई नियन्त्रणमा लियौँ ।’

उनका अनुसार पक्राउ परेका जितेन्द्रले घटनाको स्विकार गरिसकेका छन् । ‘जितेन्द्रले घटनाको स्विकार गरिसकेका छन् । अन्य आवश्यक अनुसन्धान गर्दैछौ’, उनले भने ।

इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट प्रहरी निरिक्षकको कमाण्डमा खटिएको ‘सोको’ (सिन अफ क्राइम अफिसर्स) सहितको टोलीले घटनास्थलको जाँच मुचुल्का गरेको छ । मृतकको शव पोष्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा राखिएको जिल्ला प्रहरीले जनाएको छ ।

पक्राउ परेकामाथि ज्यानसम्बन्धी कसूरमा ७ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनायो ।

मृतक असपतलीयाका एक सन्तान छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै