ट्रेन्डिङ

नेपाली क्रिकेटको प्रशंसामा एबी डिभिलियर्सले भने ‘नेपाल डरलाग्दो टिम हो’

वीरगन्ज । दक्षिण अफ्रिकाका पूर्वकप्तान तथा विश्वचर्चित क्रिकेटर एबी डिभिलियर्सले नेपाली क्रिकेट टिमको खुलेर प्रशंसा गरेका छन्।

भारतीय पत्रकार शुभांकर मिश्रसँगको एक अन्तर्वार्तामा उनले नेपाललाई ‘डरलाग्दो टिम’ भन्दै सम्बोधन गरेका छन्। डिभिलियर्सले नेपाली टोलीले पछिल्ला केही वर्षमा गरेको प्रगति निकै लोभलाग्दो रहेको बताएका छन्। उनले भने, ‘उनीहरू एक अद्भुत टिम हुन्। धेरै टाढासम्म आइपुगेका छन्। अहिलेको अवस्थामा नेपाल निकै खतरनाक क्रिकेट टिम हो।’

यसअघि, २०२४ को टी–२० विश्वकपमा नेपाल दक्षिण अफ्रिकासँग १ रनको झिनो अन्तरले पराजित भएको थियो। सोही प्रसंगमा सोधिएको प्रश्नको जवाफमा डिभिलियर्सले यस्तो बताएका हुन्। उनले नेपालजस्ता देशलाई अझ धेरै अन्तर्राष्ट्रिय अवसर दिनुपर्नेमा पनि जोड दिएका छन्।

डिभिलियर्सलाई नेपालको घरेलु लिग, एनपीएल खेल्ने चर्चाबारे पनि प्रश्न गरिएको थियो। उनले यसअघि निमन्त्रणा आएको भए पनि समय तालिका नमिल्दा सहभागी हुन नसकेको बताए। अहिले उनी छोटो अवधिका लिगहरूमा मात्र खेल्ने गरेको पनि उनले स्पष्ट पारे।

यद्यपि, भविष्यमा एनपीएल खेल्ने सम्भावनाबारे उनले भने, ‘भविष्यमा केही हुन सक्छ, त्यसबारेमा अहिले त कसैलाई थाहा हुँदैन, हेरौं।’

डिभिलियर्स हालै बेलायतमा भएको ‘वर्ल्ड च्याम्पियनसिप अफ लिजेन्ड्स’मा सहभागी भएका थिए, जहाँ उनको शानदार शतकको मद्दतमा पाकिस्तानलाई पराजित गर्दै दक्षिण अफ्रिकाले उपाधि जितेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै