ट्रेन्डिङ

सिरहाको बरियारपट्टी भन्सारबाट राजस्व सङ्कलनमा वृद्धि

सिरहा । सिरहाको माडर मुख्य भन्सार अन्तर्गत पर्ने बरियारपट्टी छोटी भन्सारले पछिल्लो तीन आर्थिक वर्षमा राजस्व सङ्कलनमा उल्लेख्य वृद्धि हासिल गरेको छ।

स्थानीय व्यापारीका अनुसार भन्सारको सेवा प्रवाहमा सुधार र सहज प्रक्रियाका कारण व्यापारिक गतिविधि बढेको हो।

छोटी भन्सार कार्यालयका प्रमुख शम्भु केसीले दिएको जानकारीअनुसार, आर्थिक वर्ष २०७९/८० मा १९ लाख ६६ हजार रुपैयाँ मात्र राजस्व सङ्कलन भएकोमा २०८०/८१ मा यो बढेर ४६ लाख ५० हजार पुग्यो। गत आर्थिक वर्ष २०८१/८२ मा भने राजस्व सङ्कलन ७० लाख ६ हजार रुपैयाँ पुगेको छ।

प्रमुख केसीका अनुसार, यो नाकाबाट विशेष गरी खाद्यान्न, किराना, मेलापर्वका सामग्री, खेलौना र सजावटका वस्तुहरू आयात हुने गरेका छन्। राजस्व वृद्धिको मुख्य कारण सीमावर्ती व्यापारिक गतिविधिमा विस्तार, चेकपोइन्टको सुध्रिएको व्यवस्थापन र आयातकर्ताहरूको सक्रियतालाई मानिएको छ।

स्थानीय व्यापारी मुकेशकुमार यादवले भन्सार प्रक्रिया पहिलेको भन्दा छिटो र झन्झटमुक्त भएको बताए। यसले व्यवसाय गर्न सजिलो भएको उनको भनाइ छ।

प्रमुख केसीले आउँदै गरेका चाडपर्वहरूका कारण आगामी महिनामा व्यापारिक गतिविधि अझ बढ्ने र त्यसबाट राजस्व सङ्कलनमा थप वृद्धि हुने अपेक्षा गरिएको बताए। भारतसँग सीमा जोडिएको सिरहा जिल्लामा माडर र ठाडी गरी दुईवटा मुख्य भन्सार र एउटा मात्र छोटी भन्सार सञ्चालनमा छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै