जनकपुरधाम। वर्षा नहुँदा मधेश प्रदेशमा खानेपानी र कृषि क्षेत्रमा देखिएको संकट समाधान गर्न प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखी गम्भीर रूपमा जुटेका छन्।
प्रदेश सरकारका प्रवक्तासमेत रहेका मन्त्री लेखीले सुख्खा खडेरी तथा खाद्यान्न र खानेपानी संकटको समस्यालाई सम्बोधन गर्न विभिन्न कदम चालेका छन्।
भूमिगत जलस्तर घट्दा प्रदेशका विभिन्न स्थानमा देखिएको खानेपानीको समस्या समाधान गर्न गृह मन्त्रालयले बारुण यन्त्र र ट्यांकर प्रयोग गरी पिउने पानी वितरणको कार्यक्रम अघि सारेको छ। यसका साथै मन्त्रालयले कृषि तथा खानेपानी मन्त्रालयसँगको सहकार्यमा विपद् प्रतिकार्यका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको छ। यसका लागि दातृ निकायहरूसँग पनि सहयोगको लागि अपिल गरिएको छ।
आजै गृह मन्त्रालयको आयोजनामा संकटग्रस्त क्षेत्रको समस्या समाधानका लागि सरोकारवालाहरूसँग एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा मन्त्री लेखीले वर्तमान समस्याले दीर्घकालीन रूपमा असर पार्ने भन्दै आफू चिन्तित रहेको बताएका थिए। उनले समस्या समाधानका लागि आफू गम्भीरतापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गर्दै सरोकारवाला पक्षसँग आवश्यक सल्लाह र सुझावसमेत मागेका छन्।