वीरगन्ज । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को बहाल अवधि अब १० वर्ष पुगेको छ।
सरकारले ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक’ राजपत्रमा प्रकाशित गरेपछि यो व्यवस्था लागू हुने भएको हो। यसअघि लाइसेन्सको बहाल अवधि ५ वर्षको थियो।
संशोधित व्यवस्था अनुसार, सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ५४ को उपदफा ३ मा रहेको ‘पाँच वर्षसम्म’ भन्ने शब्दको सट्टा ‘दश वर्षसम्म’ भन्ने शब्द राखिएको छ। यससँगै अब लाइसेन्सको नवीकरण पनि १० वर्षका लागि मान्य हुनेछ।
यो विधेयक तत्कालीन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले अघिल्लो सरकारको पालामा ल्याएका थिए। लामो प्रक्रिया पूरा गरी प्रतिनिधि सभाबाट पारित भएपछि अब यो विधेयक राष्ट्रिय सभामा जानेछ। राष्ट्रिय सभाबाट पारित भएर राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कानुनको रूपमा लागू हुनेछ।
यस नयाँ व्यवस्थाले लाइसेन्स नवीकरणका लागि धाउनुपर्ने झन्झटबाट सर्वसाधारणलाई राहत मिल्ने अपेक्षा गरिएको छ।