ट्रेन्डिङ

बारा र पर्साका १२ सामुदायिक विद्यालय ‘नमूना विद्यालय’ घोषित

वीरगन्ज। संघीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका सामुदायिक विद्यालयहरूमध्ये बारा र पर्साका १२ वटा विद्यालयलाई ‘नमूना विद्यालय’ को रूपमा छनोट गरेको छ।

पर्सा जिल्लाबाट जम्मा पाँचवटा सामुदायिक विद्यालयहरू नमूना विद्यालयको सूचीमा परेका छन्। यी विद्यालयहरूमा वीरगन्ज महानगरपालिकाको नृसिंह मावि, पोखरिया नगरपालिकाको जिल्ला उच्चाङ्गल रामदेव कलवार मावि, बहुदरमाई नगरपालिकाको देवनन्दन देवराज मावि, ठोरी गाउँपालिकाको सरस्वती मावि र सखुवा प्रसौनी गाउँपालिकाको दीपनारायण आदर्श मावि रहेका छन्।

उता, बारा जिल्लाबाट भने सातवटा विद्यालयहरू छनौट भएका छन्। ती विद्यालयहरूमा जीतपुरसिमरा उपमहानगरपालिकाको नेपाल राष्ट्रिय मावि जीतपुर र नेपाल राष्ट्रिय मावि बकुलिया, आदर्शकोतवाल गाउँपालिकाको रामचरित्र मावि जयनगर, निजगढ नगरपालिकाको गौरीशंकर मावि निजगढ, महागढीमाई नगरपालिकाको गढीमाई महेन्द्र मावि बरियापुर, कलैया उपमहानगरपालिकाको दुर्गा मावि बैरिया र कोल्हवी नगरपालिकाको नेपाल राष्ट्रिय मावि सपही रहेका छन्।

मन्त्रालयका अनुसार, ‘नमूना विद्यालय कार्यक्रम सञ्चालन कार्यविधि २०८२र८३’ बमोजिम यी विद्यालयहरूलाई विद्यार्थी संख्या, नतिजा, समावेशिता, भौतिक पूर्वाधार र व्यवस्थापनलगायतका मापदण्डका आधारमा छनोट गरिएको हो।

यी विद्यालयहरूमा अब आईसीटीको प्रयोग, डिजिटल कक्षाकोठा, पुस्तकालय, विज्ञान प्रयोगशाला, खेलकुद तथा सांस्कृतिक क्रियाकलापका लागि आवश्यक पूर्वाधारको विकास गरिनेछ। सरकारको यो कार्यक्रमले सामुदायिक विद्यालयप्रतिको जनविश्वास बढाउने र निजी विद्यालयमाथिको निर्भरता घटाउने लक्ष्य राखेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै