वीरगन्ज । डा. बाबुराम भट्टराईले नेपालको कम्युनिष्ट आन्दोलनको वर्तमान अवस्थालाई सोभियत संघको ‘गतिहीन काल’ र स्टालिनको ‘आतंक’ सँग तुलना गर्दै गम्भीर आलोचना गरेका छन्।
नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री भट्टराईले आफ्नो फेसबुकमार्फत नेपालको कम्युनिष्ट आन्दोलनले इतिहासबाट पाठ नसिकेको भन्दै टिप्पणी गरेका हुन्।
उनले ‘हामी इतिहासबाट यो सिक्छौं कि हामी इतिहासबाट सिक्दैनौं’ भन्ने चर्चित भनाइलाई उदृत गर्दै नेपालको कम्युनिष्ट आन्दोलनको दिशा रूसको पतनशील कम्युनिष्ट पार्टीजस्तै भएको बताएका छन्। उनका अनुसार, नेपालको कम्युनिष्ट आन्दोलनको वैचारिक स्खलन र राज्य सञ्चालनको प्रवृत्ति सोभियत संघको ब्रेज्नेभ–काल (१९६४–८२) को गतिहीन काल जस्तो देखिएको छ।
पटकपटक सत्तामा रहे पनि कुनै गुणात्मक परिवर्तन नल्याएको र केवल ‘समाजवाद/साम्यवाद’ को गफमा सीमित भएको भन्दै भट्टराईले नेताहरूले कार्यकर्तालाई अल्मल्याइरहेको आरोप लगाएका छन्।
पार्टीभित्रको आन्तरिक सम्बन्धको कुरा गर्दै उनले स्टालिनको महान् परीक्षणको झल्को आउने गरी नेपालमा पनि नेतृत्वसँग आँखा जुधाउने र आलोचना गर्ने नेता–कार्यकर्तालाई पार्टी र सत्ताबाट निकालिने प्रवृत्ति हावी रहेको बताएका छन्।
भट्टराईले स्टालिनले आफ्ना प्रतिस्पर्धीहरूलाई भौतिक रूपमा सफाया गरेजस्तै नेपालका ‘कम्युनिष्ट मठाधीशहरू’ले आफ्ना आलोचक र विरोधी नेताहरूलाई भौतिक रूपमा नभए पनि राजनीतिक र सांगठनिक रूपमा सफाया गरिरहेको भन्दै आक्रोश व्यक्त गरेका छन्। उनले यसलाई इतिहासको ठूलो विडम्बना भनेका छन्।
उनले कम्युनिष्ट पार्टीमा भावनात्मक रूपमा टाँसिएका र नेतृत्वले अरूलाई निकाल्दा ताली बजाउने अनि आफ्नो पालो आउँदा एक्लै आँसु बगाउनेहरूलाई इतिहासबाट पाठ सिकेर नयाँ विकल्प खोज्ने साहस गर्न आह्वान गरेका छन्।