ट्रेन्डिङ

नेकपा एसका सम्मानित नेता झलनाथ खनालद्वारा एमाले छाडेकोमा पश्चात्ताप

वीरगन्ज । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले नेकपा एमालेबाट विद्रोह गरेर नयाँ पार्टी बनाउनु गल्ती भएको स्वीकार गरेका छन्।

उनले नेकपा एमालेलाई देशको सबैभन्दा ठूलो र सशक्त कम्युनिस्ट शक्ति भएकोले त्यसलाई छाड्ने निर्णयप्रति पश्चात्ताप व्यक्त गरेका छन्।

पत्रकार जगदीश खरेलसँगको अन्तर्वार्तामा खनालले भने, ‘जतिबेला पार्टी विद्रोह या विभाजन गरियो नि, त्यो नै गलत रहेछ भन्ने ठाउँमा पुग्दै छु म।’ उनले नेकपा एमाले कम्युनिस्ट आन्दोलनको एउटा बलियो संस्था भएको र त्यसलाई छाड्नु गम्भीर भूल भएको बताए।

खनालले एमालेबाट गरिएको विद्रोह पुष्टि हुन नसकेको र त्यसलाई नै आफ्नो गल्तीको प्रमाणको रूपमा लिएको बताए। उनले भने, ‘पुष्टि नहुनुको अर्थ के हो भने, गलत गरियो। गलत गरिएछ त्यति बेला।’

उनले आफ्नो विद्रोह कुनै व्यक्ति विशेष (केपी ओली)सँगको विरोधका कारण नभई संस्थागत हिसाबले नै गल्ती भएको स्पष्ट पारे। ‘संस्थागत हैसियतमा एमाले एउटा बलियो संस्था थियो। त्यस्तो संस्थालाई त्यति बेला छाड्नु, विद्रोह गर्नु सही थिएन,’ उनले थपे।

खनालको यो भनाइलाई नेपाली वाम राजनीतिमा महत्त्वपूर्ण मोडका रूपमा हेरिएको छ। विशेषगरी, नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपालमाथि मुद्दा दायर भएपछि उनले राजीनामा दिनुपर्ने भन्दै सार्वजनिक रूपमा धारणा राखेका थिए।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै