वीरगन्ज । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा साउन २५ गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ।
शैक्षिक क्यालेन्डरअनुसार साउन १५ गतेसम्म नतिजा प्रकाशित भइसक्नुपर्ने भए पनि शिक्षकहरूको आन्दोलनका कारण परीक्षा ढिला सुरु भएकाले नतिजा प्रकाशनमा करिब १० दिनको ढिलाइ हुने भएको हो।
बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार, नतिजा प्रकाशनका लागि प्राविधिक कामहरू धमाधम भइरहेका छन्। उनले भने, ‘परीक्षा ढिलागरी भएकाले नतिजा सार्वजनिक गर्न पनि ढिलाइ भएको हो। हामी २५ साउनभित्र नतिजा सार्वजनिक गर्ने तयारीमा छौं।’
गत २० चैतदेखि २९ दिनसम्म चलेको शिक्षक आन्दोलनका कारण वैशाख ११ गतेका लागि तय भएको परीक्षा स्थगित गरी वैशाख २१ गतेदेखि सुरु गरिएको थियो। विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक महासंघले आन्दोलन गरेको थियो। यस वर्षको परीक्षामा देशभरबाट ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएका थिए।