ट्रेन्डिङ

खुकुरी प्रहार गरी धनुषाकी अन्जली यादवको हत्या गर्ने अभियुक्त रामबाबु साह पक्राउ

जनकपुर । धनुषामा खुकुरी प्रहार गरी १४ वर्षीया अञ्जली यादवको ज्यान लिने अभियुक्त रामबाबु साहलाई प्रहरीले पक्राउ गरेको छ।

घटना भएको ७२ घन्टाभित्रै साहलाई पक्राउ गरिएको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

प्रदेश प्रहरी प्रमुख डीआईजी उमाप्रसाद चतुर्वेदीका अनुसार बिहीबार राति साहलाई धनुषा जिल्लाको महेन्द्रनगरस्थित इच्छापुर टोलबाट विशेष प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

एक घरमा लुकीछिपी बसिरहेको सूचना पाएपछि छापा मारेर उनलाई पक्राउ गरिएको जनाइएको छ।

पारिवारिक विवादपछि भयो त्रासदीपूर्ण घटना
गत मंगलबार जनकपुर उपमहानगरपालिका क्षेत्रको सञ्चय कोष नजिक बस्ने आशा यादवसँग विवाद बढेपछि साहले खुकुरी प्रहार गरेका थिए।

सो घटनामा आशाकी छोरी अञ्जली यादवको घटनास्थलमै मृत्यु भएको थियो।

खुकुरी आक्रमणमा अञ्जलीकी आमा ३६ वर्षीया आशा यादव र भतिजी राधा यादव समेत घाइते भएकी थिइन्।

पहिले पनि श्रीमती हत्याको अभियोगमा थिए जेल चलान

प्रहरी अनुसन्धानका क्रममा साह यसअघि पनि आफ्नै श्रीमतीको हत्या अभियोगमा जेल परिसकेका व्यक्ति रहेको तथ्य खुलेको छ।

केही समयअघि मात्र जेलबाट छुटेका उनी पुनः अर्को जघन्य अपराधमा संलग्न भएका छन्।

हाल साहलाई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखी विस्तृत अनुसन्धान सुरु गरिएको छ।

प्रहरीका अनुसार उनलाई कडा निगरानीमा राखिएको छ र आवश्यक प्रमाण संकलनका लागि सूक्ष्म सोधपुछ भइरहेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै