जनकपुरधाम । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकार परिवर्तन गर्ने खेलमा आफू संलग्न नरहेको स्पष्ट पारेका छन् ।
आज विराटनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै कोइरालाले मुलुकका समस्या समाधानका लागि आफूले अन्य दलका नेताहरूसँग भेटघाट गरेको तर सरकार परिवर्तनका लागि कुनै छलफल नगरेको बताए ।
पार्टीको संसदीय दलको नेता परिवर्तन गर्न आवश्यक सङ्ख्या आफूहरूसँग नभएको पनि कोइरालाले उल्लेख गरे । उनले वर्तमान सरकारले जनअपेक्षाअनुसार काम गर्न नसके पनि अर्को सरकार बन्ने सम्भावना नरहेकाले यही गठबन्धनले २०८४ को निर्वाचन गराउने दाबी गरे ।
नेता कोइरालाले पूर्वराष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा फर्कन नहुने आफ्नो स्पष्ट धारणा रहेको बताए । संविधानले यस विषयमा नबोलेकोले संविधान संशोधन आवश्यक रहेको उनले जिकिर गरे । यद्यपि, वर्तमान गठबन्धन सरकारले संविधान संशोधनलाई प्राथमिकतामा राखेको भए पनि अहिलेसम्म संविधान संशोधनका लागि कार्यदल नबनाएकोमा उनले गुनासो गरे ।
कोइरालाले निजामती सेवा विधेयकमा ‘कुलिङ अफ पिरियड’ अनिवार्य राख्नु पर्ने बताउँदै यसमा राजनीतिक दलका शीर्ष नेताहरूले चलखेल गरिरहेको आरोपसमेत लगाए ।