वीरगन्ज । सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर ६, छेत्पा भण्डास विप्पर कट्टेरीका एकै परिवारका १६ जना सदस्य सामाजिक सुरक्षा भत्ता बुझेको केही दिनमै बेपत्ता भएका छन्।
गाउँपालिकाले सोमबार बेपत्ता भएका हायू परिवारका सदस्यहरूको नामावली सार्वजनिक गरेको छ। प्रहरीले उनीहरूको खोजी कार्य सुरु गरेको छ।
गाउँपालिकाले सार्वजनिक गरेको नामावलीअनुसार बेपत्ता हुनेहरूमा उर्मिला हायू (घरमुली आमा), कमला हायू (जेठी छोरी), कोमल माया हायू (माइली बुहारी), उषा हायू (छोरी), सुजता हायू (छोरी), अस्मिता हायू (छोरी),
राजु हायू (जेठा छोरा), हिमाल हायू (माइला छोरा), लाल बहादुर हायू (साइला छोरा) रहेका छन् ।
त्यसैगरी वेग बहादुर हायू (छोरा), लक्ष्मण हायू (छोरा), सुवर्ण हायू (छोरा), ओम कुमारी हायू (छोरी), अर्जुन हायू (नाती), रियासा हायू (नातिनी), शान्ता हायू (छोरी) रहेका छन् ।
गोलन्जोर गाउँपालिकाका अनुसार, गत मंगलबार हिमालयन बैंक खुर्कोट शाखाबाट सामाजिक सुरक्षा भत्ता निकालिएको थियो। त्यसको शुक्रबार वडा कार्यालयमा गएर सामाजिक सुरक्षा भत्ता नवीकरणसमेत गरिएको थियो। तर, त्यसपछि भने परिवारका सबै सदस्य अचानक सम्पर्कविहीन भएका हुन्।
गोलन्जोर ६ का वडाध्यक्षले बेपत्ता परिवारको घर लथालिङ्ग अवस्थामा भेटिएको बताएका छन्। यस घटनाले स्थानीय क्षेत्रमा विभिन्न अड्कलबाजी र चिन्ता बढाएको छ। प्रहरीले बेपत्ता परिवारको खोजी कार्यलाई तीव्रता दिएको छ। उनीहरू कहाँ र किन बेपत्ता भए भन्नेबारे थप अनुसन्धान भइरहेको छ।
