जनकपुरधाम । मधेश प्रदेशमा गठबन्धन सरकार बनेको एक वर्ष बितिसक्दा पनि दलहरूबीच कुनै ठूलो असन्तुष्टि नरहेको मुख्यमन्त्रीले स्पष्ट पारेका छन्।
उनका अनुसार अहिले देखिएका विवादहरू प्रदेशस्तरका केही नेतारकार्यकर्ताका मात्र हुन् र यसलाई असन्तुष्टि भन्न मिल्दैन। मुख्यमन्त्रीले आफू राष्ट्रिय अध्यक्षसहित संघीय गठबन्धनबाट पाएको जिम्मेवारीअनुसार काम गरिरहेको र सबै मन्त्रीहरूसँग समन्वय भइरहेको बताए।
कांग्रेसले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको चर्चा चलाए पनि मुख्यमन्त्रीले त्यस्तो कुनै सम्झौता नभएको दाबी गरेका छन्। ‘कांग्रेससँग आलोपालो सरकारको नेतृत्व गर्ने त्यस्तो कुनै सहमति भएको छैन। आलोपालोको कुनै निर्णय पनि भएको छैन,’ मुख्यमन्त्रीले भने, ‘म मुख्यमन्त्री बन्दाखेरि कुनै सम्झौता गरेको छैन। न त मेरो राष्ट्रिय अध्यक्षज्यूले कतै सम्झौता नै गर्नुभएको छ।’
यद्यपि, ०८४ सालसम्म जनमत पार्टीकै नेतृत्वमा सरकार टिक्ने भन्ने पनि कुनै सहमति नभएको उनले बताए। संघीय गठबन्धनले गर्ने निर्णय बेग्लै हुने र शीर्ष नेताहरूको सहमति भएमा मात्र सरकार फेरबदल हुने उनको भनाइ छ।
बजेटमा देखिएको व्यापक विवादलाई पनि सरकारले समाधान गरेको मुख्यमन्त्रीले बताए। सुरुमा ‘खुद्रे बजेट’ बढी भएको भन्दै असन्तुष्टि जनाइए पनि पछि सबैको वास्तविकता जाँच गरी सर्वसम्मतिबाटै बजेट पारित गरिएको उनले जानकारी दिए। ‘सानोतिनो त्रुटिलाई पछि सच्याउने गरी बजेट पास गरेका हौँ। यो भनेको कम बजेट भएको ठाउँमा ुजस्टिफिकेससनु सहित बजेट थपिदिने, रकमान्तर गरिदिनेजस्ता सहमति गरेर बजेट पारित गरिएको हो,’ उनले भने, ‘तर यो भनेको संशोधन वा पुनर्लेखन भने होइन।’
मधेश प्रदेशलाई सुक्खाग्रस्त र संघीय सरकारले संकटग्रस्त क्षेत्र घोषणा गरेकोमा मुख्यमन्त्रीले धन्यवाद व्यक्त गरे। यसले नियम कानुनका कारण काम गर्न सजिलो भएको र ‘फास्ट ट्रयाक’मा काम गर्न सकिने बताए। उनले टेन्डर प्रक्रियामा ३० दिनको सूचना झन्झट नरहेको र अन्य क्षेत्रका पैसा पनि सुक्खाग्रस्त क्षेत्रमा खर्च गर्न सकिने बताए।
मुख्यमन्त्रीले संघीय सरकारसँग सुनकोशी–मेरिन डाइभर्सनबाट तत्काल बागमतीसम्म पानी ल्याइदिन र चुरे क्षेत्र संरक्षण तथा पानी रिचार्जका लागि गम्भीरतापूर्वक काम गरिदिन अनुरोध गरेका छन्। सिँचाइका लागि ठुल्ठुला परियोजना बढाउन, किसानका लागि बीउबिजन र मलखादको व्यवस्थासँगै ठूलो प्याकेज घोषणा गर्न पनि उनले आग्रह गरे।
जलसंकटको समस्या समाधानका लागि प्रदेश सरकारले विभिन्न पहल गरिरहेको मुख्यमन्त्रीले जानकारी दिए। तत्काल खानेपानीको हाहाकार सुल्झाउन ट्यांकरबाट पानी वितरण भइरहेको छ। सरकारको रेडबुकमा रहेका खानेपानीका योजनाहरू अहिले खर्च भइरहेका छन्।
साथै, आइएनजीओहरूसँग समन्वय गरी धेरै ठाउँमा पानी वितरणको काम गराइरहेको पनि उनले बताए। किसानहरूका लागि पनि केही प्याकेज ल्याउने तयारी भइरहेको र पर्सिसम्म रिपोर्ट आएपछि बोरिङ, बीउबिजन र खाद्यान्न आपूर्तिमा प्रदेश सरकारले के गर्न सक्छ भन्नेबारे छलफल चलिरहेको उनले बताए।