वीरगन्ज । लुम्बिनी प्रदेशमा लामो समयको राजनीतिक उतारचढावपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सरकारमा फर्किएको छ।
लोसपाका सांसद तथा संसदीय दलका नेता सन्तोष पाण्डेलाई मुख्यमन्त्री चेतनारायण आचार्यले युवा तथा खेलकुद मन्त्री नियुक्त गरेका छन्। उनको शपथग्रहण समारोह भोलि सोमबार दिउँसो ३ बजेका लागि तय भएको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आजै पाण्डेलाई मन्त्री नियुक्त गरेको जानकारी प्रदेश प्रमुखको कार्यालयलाई इमेलमार्फत गराइसकेको आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले बताएका छन्।
तीन सांसद रहेको लोसपा यसअघि प्रदेश सरकारको बजेटमाथि छलफल भइरहेका बेला एकाएक सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा गएको थियो। लोसपाको यो कदमले लुम्बिनी प्रदेश सरकारको भविष्यमाथि प्रश्नचिह्न खडा गरेको थियो। तर, अहिले सन्तोष पाण्डेलाई मन्त्री नियुक्त गरेर लोसपा पुनः सरकारमा सामेल भएको छ।
११ सदस्यीय मन्त्रिमण्डल रहेको लुम्बिनी प्रदेश सरकारमा यसअघि युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री चेतनारायण आचार्यले नै सम्हालेका थिए। वर्तमान मन्त्रिमण्डलमा मुख्यमन्त्रीसहित ५ जना मन्त्री नेकपा एमालेबाट, ५ जना नेपाली कांग्रेसबाट र जनता समाजवादी पार्टी (जसपा) बाट एकजना मन्त्री रहेका थिए।