वीरगन्ज । पर्सा प्रहरीले लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ।
पकहामैनपुर गाउँपालिका–१, धोरेस्थित सडकखण्डमा शनिबार साँझ करिब ६ः३० बजेको समयमा शंकास्पद अवस्थामा हिँडिरहेका एक व्यक्तिलाई नियन्त्रणमा लिई खानतलासी गर्दा ठूलो मात्रामा लागुऔषध बरामद भएको हो।
जिल्ला प्रहरी कार्यालय पर्सा मातहतको प्रहरी चौकी धोरेबाट खटिएको नियमित चेकिङ टोलीले भेडिअर्वा गाउँबाट धोरेतर्फ आउँदै गरेका पकहामैनपुर गाउँपालिकाण्२, मधुबनी बस्ने २२ वर्षीय दिलिप कुमार सहनीलाई रोकेको थियो। उनको साथमा रहेको निलो रंगको झोलाको खानतलासी गर्दा प्रहरी टोली चकित परेको थियो। सहनीले उक्त झोलामा आलु र प्याजभित्र लुकाइछिपाइ राखेको अवस्थामा विभिन्न प्रकारका लागुऔषधका एम्पुलहरू फेला परेका थिए।
बरामद लागुऔषधमा बुप्रेनोरफिन १५० एम्पुल, डाइजापाम १५० एम्पुल र प्रोमेथाजिन १५० एम्पुल गरी जम्मा ४५० एम्पुल रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
लागुऔषधसहित नियन्त्रणमा लिइएका दिलिप कुमार सहनीलाई इलाका प्रहरी कार्यालय पोखरिया पर्सामा ल्याई लागुऔषध सम्बन्धी कसूरमा अनुसन्धान अघि बढाइएको छ। पर्सा जिल्ला अदालतबाट अनुसन्धानका लागि ७ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।