जनकपुरधाम । नेपालको तराई, विशेषगरी मधेश प्रदेश, लामो समयदेखिको खडेरी र खानेपानीको चरम अभावबाट गुज्रिरहेका बेला समाजवादी युवा संघ नेपाल, धनुषाले जनकपुरधाममा विरोध प्रदर्शन गरेको छ।
केन्द्र र प्रदेश सरकारले मधेश प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरे पनि कागजमा मात्र सीमित राखेर तत्काल राहत र अनुदान उपलब्ध नगराएको भन्दै जसपा नेपाल निकट युवा संघले दबाबमूलक प्रदर्शन गरेको हो।
आज जनकपुरधामको सडकमा उत्रिएका प्रदर्शनकारीहरूले हातमा माटोको गाग्री (घैँटो) बोकेर खानेपानीको अभावलाई प्रतीकात्मक रूपमा प्रस्तुत गरेका थिए। केही प्रदर्शनकारीहरूले ‘अवैध उत्खनन बन्द गर, बिचौलिया सरकार मुर्दाबाद’ जस्ता नाराहरू उल्लेखित प्लाकार्ड बोकेका थिए ।
प्रदर्शनमा सहभागी युवाहरूले सरकारविरुद्ध चर्का नाराबाजी गरेका थिए। उनीहरूले ‘किसानलाई पानी दे’, ‘हाम्रो माग पूरा गर’, ‘सरकार राजीनामा दे’, जस्ता नारा लगाएका थिए। उनीहरूको मुख्य माग सुक्खाग्रस्त मधेश प्रदेशलाई तत्काल आपत्कालीन राहत अनुदान उपलब्ध गराउनु र खानेपानीको समस्यालाई यथाशीघ्र समाधान गर्नु थियो।
प्रदर्शनकारीहरुले मधेश प्रदेशका किसानहरूले बालीनाली लगाउन नसकेको र खानेपानीको मुहान सुकेपछि आम नागरिकले भोग्नुपरेको समस्याप्रति सरकार गम्भीर नभएको आरोप लगाएका छन् । उनीहरूले सरकारले घोषणा मात्रै गरेर किसान र नागरिकलाई बेवास्ता गरेको भन्दै तत्काल ठोस कदम चाल्न माग गरे।