जनकपुरधाम । यातायात व्यवस्था कार्यालय जनकपुरधामले आर्थिक वर्ष २०८१/८२ मा ६६ करोड ६९ लाख ४३ हजार ९८० रुपैयाँको कुल राजस्व संकलन गरी उल्लेखनीय उपलब्धि हासिल गरेको छ।
यो राजस्व चालक अनुमति पत्र (लाइसेन्स) वितरण, नवीकरण, जरिवाना, नयाँ सवारीसाधन दर्ता, सवारीसाधन नवीकरण, रुट परमिट, नामसारी र पटके लगायतका विभिन्न शीर्षकहरूबाट संकलन भएको कार्यालयले जनाएको छ।
कार्यालय प्रमुख धनञ्जयकुमार सिंहका अनुसार लामो समयदेखि विद्युत आपूर्तिको समस्याले सेवा प्रवाहमा अवरोध पुर्याउँदै आएकोमा हालै सोलार प्रणाली जडान गरिएपछि सेवा प्रवाहमा उल्लेखनीय सुधार आएको छ। ‘पहिले विद्युत नहुँदा सेवाग्राहीले सास्ती भोग्नुपर्थ्यो, अहिले सोलार जडान भएपछि काम छिटोछरितो भएको छ,’ सिंहले भने। यसले सेवाग्राहीलाई सहजता प्रदान गर्नुका साथै कार्यालयको कार्यक्षमतामा पनि वृद्धि गरेको छ।
गत आर्थिक वर्षमा कार्यालयले सरकारी, सार्वजनिक, भाडाका साथै निजीतर्फका ठूला, मझौला तथा साना गरी कुल ८ हजार ५७ वटा सवारीसाधनको दर्ता, नवीकरण र नामसारी प्रक्रिया सम्पन्न गरेको छ। यो संख्याले कार्यालयको सक्रियता र सेवाग्राहीको माग दुवैलाई दर्शाउँछ।
कार्यालयले डिजिटल प्रणालीमार्फत सेवाग्राहीलाई सहज सेवा दिने प्रयास गरिरहेको र आगामी दिनमा अझ प्रभावकारी सेवा प्रवाह गरिने प्रतिबद्धता व्यक्त गरेको छ।