वीरगन्ज । भारतबाट पर्साको वीरगन्ज हुँदै काठमाडौंतर्फ भित्रिँदै गरेको ठूलो परिमाणको लागुऔषधसहित चार जनालाई सशस्त्र प्रहरीले मकवानपुरबाट नियन्त्रणमा लिएको छ।
भारतको सुगौलीबाट वीरगन्ज हुँदै लागुऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ हेवी चोकबाट गत साउन १० गते राति करिब साढे ८ बजे उनीहरूलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा भारतका ४३ वर्षीय शेख सपुर, १९ वर्षीय निसाव आलम, २५ वर्षीय ओसिम अहमद र गाडी चालक २४ वर्षीय शेख गजुर रहेका छन्। बीआर ०५ पीए ९०९३ नम्बरको भारतीय स्कारपियो गाडीको तीन वटा ढोकामा विशेष फल्स बटम बनाई लागुऔषध लुकाइएको अवस्थामा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस कुलेखानीबाट खटिएको टोलीले बरामद गरेको लागुऔषधमा २ हजार ४ सय थान नोर्फिन, २ हजार ४ थान डाईजेपाम, २ हजार ४ सय थान प्रोमेथाइजाइन हाइड्रोक्लोराइड र ५ थान ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल रहेको छ।
पक्राउ परेकाहरूले लागुऔषध ओसारपसारको उद्देश्यबारे केही खुलाउन नसकेको सशस्त्र प्रहरीका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए। बरामद लागुऔषध, पक्राउ परेका व्यक्तिहरू र गाडीलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ।