वीरगन्ज । नेपाली कांग्रेसभित्रको संस्थापन पक्षका ‘सात भाइ’ नेताहरूले सरकारको वर्तमान कार्यशैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै पार्टी सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् ।
उनीहरूले नेकपा एमालेसँगको सत्ता सहकार्य प्रभावकारी नभएको र सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको भन्दै देउवालाई बुढानीलकण्ठस्थित निवासमा भेटेर प्रधानमन्त्री केपी ओलीसँग आवश्यक कुराकानी गर्न आग्रह गरेका छन् ।
सोमबार उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसेको सात जनाको भेलापछि आज तीमध्ये पाँच नेताहरू देउवालाई भेट्न पुगेका थिए । हिजोको भेलामा सिंहसहित विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, शशांक कोइराला, प्रकाशशरण महत र विजयकुमार गच्छदार सहभागी थिए । तर, आजको बुढानीलकण्ठ भेटमा भने कोइराला र निधि कार्यव्यस्तताका कारण उपस्थित हुन सकेनन् ।
बुढानीलकण्ठ पुगेका नेताहरूमध्ये गोपालमान श्रेष्ठले सरकारको कामकारबाहीमाथि गम्भीर प्रश्न उठाए । ‘सरकार प्रभावकारी बन्न सकेको छैन, हाम्रा मन्त्रीहरूले पनि राम्रो काम गर्नुपर्यो,’ उनले भने, ‘भ्रष्टाचार काण्डमा मुछिएका मन्त्रीहरूमाथि कारबाही नहुँदा प्रश्न उठ्यो । नियुक्तिको विषयमा पनि राम्रो सरसल्लाह भएको देखिँदैन । यी सबै विषयमा प्रधानमन्त्रीसँग कुरा गर्न हामीले सभापतिलाई भनेका छौँ ।’
नेता श्रेष्ठले वर्तमान सत्ता समीकरणलाई २०८४ सालको चुनावसम्म निरन्तरता दिनुपर्नेमा जोड दिँदै त्यसका लागि उचित वातावरण बनाउनुपर्ने बताए । उनीहरूले रूपन्देही–३ लगायतका उपनिर्वाचन तथा उम्मेदवार चयनको विषयमा पनि सभापति देउवाको ध्यानाकर्षण गराएका छन् । साथै, पार्टी नेता तथा कार्यकर्ता जनतामाझ पुग्नेगरी कार्यक्रम ल्याउनुपर्ने सुझाव पनि दिएको उनले जानकारी दिए ।
आफ्नो कुरा सुनेपछि सभापति देउवाले प्रधानमन्त्री ओलीसँग सल्लाह गरेरै अघि बढिरहेको जवाफ दिएको श्रेष्ठले बताए । देउवालाई उद्धृत गर्दै उनले भने, ‘हामी सल्लाह गरेरै अघि बढ्दैछौँ । विस्तारै सुधारको काम हुँदै छ, धेरै प्रश्न उठाउँदा राम्रो सन्देश पनि जाँदैन । मैले प्रधानमन्त्रीसँग कुरा गरिरहेकै पनि छु ।’
नेताहरूले उपप्रधानमन्त्री सिंहमार्फत आफ्नो सन्देश देउवासम्म पुर्याएको पनि बताए । उनीहरूले संविधान संशोधनको विषय दुई दलबीचको सहमतिमा भएकाले त्यसलाई पनि प्रक्रिया अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् ।