ट्रेन्डिङ

बंगलादेशमा विमान दुर्घटना : मृत्यु हुनेको संख्या १९ पुग्यो, एक सयभन्दा बढी धाइते

वीरगन्ज । बंगलादेशको राजधानी ढाकामा सोमबार दिउँसो भएको एक भयानक विमान दुर्घटनामा परी मृत्यु हुनेको संख्या १९ पुगेको छ।

ढाकाको दियाबारी क्षेत्रस्थित माइलस्टोन स्कुलमा बंगलादेशी वायुसेनाको एफ–७ बीजेआई प्रशिक्षण विमान खस्दा यो ठूलो मानवीय क्षति भएको हो।

बीबीसी बंगलाका अनुसार, यस दुर्घटनामा कम्तीमा १०० जना भन्दा बढी घाइते भएका छन्। घाइतेहरूलाई राष्ट्रिय बर्न एन्ड प्लास्टिक सर्जरी इन्स्टिच्युट, कुर्मिटोला अस्पताल, ढाका मेडिकल कलेज अस्पताल, संयुक्त सैन्य अस्पताल र उत्तरा मोडर्न अस्पताल लगायतका विभिन्न स्वास्थ्य संस्थामा भर्ना गरी उपचार भइरहेको छ।

माइलस्टोन कलेजका लेक्चरर रेजाउल इस्लामले बीबीसी बंगलालाई बताएअनुसार, विद्यार्थीहरू पढाइ सकेर घर जानै लागेका बेला विमान कलेज भवनमा खसेको थियो। ‘एउटा लडाकु विमान सिधै भवनमा ठोकियो,’ इस्लामले भने, ‘अनि नर्सरी र जुनियर सेक्सनका धेरै कक्षामा बजारियो। स्कुलको गेट पूर्ण रूपमा ध्वस्त भयो र आगो लाग्यो।’ यो भयानक घटनाले विद्यालयका विद्यार्थी र कर्मचारीहरूमा ठूलो त्रास फैलाएको छ।

अन्तर–सेवा जनसम्पर्क (आईएसपीआर)ले जारी गरेको विज्ञप्ति अनुसार, सोमबार दिउँसो स्थानीय समय अनुसार १ बजेर ६ मिनेटमा उडेको विमानले केही समयपछि नै नियन्त्रण गुमाएर खसेको थियो। दुर्घटनास्थलमा अग्नि नियन्त्रक सेवाका नौ वटा युनिट उद्धार कार्यमा खटिएका थिए।

यस दुःखद घटनापछि बंगलादेश सरकारले मंगलबारका लागि राष्ट्रिय शोक घोषणा गरेको छ। राष्ट्रिय शोकको दिन सबै सरकारी, अर्ध–सरकारी, स्वायत्त संस्था र शैक्षिक संस्थामा राष्ट्रिय झण्डा आधा झुकाइने बताइएको छ। यो घटनाले बंगलादेशी नागरिक राष्ट्रिय शोकमा डुबेका छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै