वीरगन्ज । नेकपा (एमाले)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज च्यासलस्थित पार्टी मुख्यालयमा भएको एक घण्टा ४० मिनेट लामो भेटवार्ता राष्ट्रिय राजनीतिको समसामयिक विषयमा केन्द्रित रहेको भण्डारीले बताएकी छन्।
यद्यपि, पार्टीभित्र चर्को बहसको विषय बनेको भण्डारीको पार्टी सदस्यता र जिम्मेवारीबारेको ठोस निष्कर्ष भने बाहिर आएको छैन।
भेटपछि प्रधानमन्त्री ओली गम्भीर मुद्रामा देखिएका थिए र पत्रकारहरूसँग कुनै प्रतिक्रिया नदिई सीधै बाहिरिए। पूर्वराष्ट्रपति भण्डारीले संक्षिप्त प्रतिक्रिया दिने प्रयास गरे पनि पत्रकारहरूको अत्यधिक भीड र होहल्लाका कारण स्पष्ट रूपमा बोल्न सकिनन्। उनले अध्यक्ष ओलीसँगको कुराकानी ‘राष्ट्रिय राजनीतिको समसामयिक विषय’मा मात्र भएको दाबी गरिन्।
पार्टीभित्र भण्डारीको सक्रिय राजनीतिमा फर्कने घोषणा र उनको सदस्यता नवीकरणको विषयले पदाधिकारी बैठक र पोलिटब्युरोमा समेत बहस सिर्जना गरेको थियो। प्रधानमन्त्री ओलीले नै भण्डारीको सदस्यता नवीकरण नभएको खुलासा गरेपछि यो विषयले थप चर्चा पाएको थियो। एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भेट सदस्यता र जिम्मेवारीबारे संस्थागत निर्णयअघि छलफलका लागि भएको बताएका थिए।
भेटपछि दुवै नेताको अनुहारमा मुस्कान देखिए पनि त्यसलाई ‘गम्भीर प्रकृतिको’ भनी विश्लेषण गरिएको छ, जसले वार्ताका भित्री पाटोहरू अझै अस्पष्ट रहेको सङ्केत गर्छ। यो भेटले तात्कालिक विवाद समाधानमा स्पष्टता ल्याउन नसके पनि आगामी दिनमा पार्टीले भण्डारीको भूमिकाबारे कस्तो निर्णय लिन्छ भन्ने कुरा चासोको विषय बनेको छ।