वीरगन्ज । उदयपुरका एक १५ वर्षीय बालकको पेटबाट नोबेल मेडिकल कलेजका चिकित्सकहरूले सफल शल्यक्रियामार्फत कैँची निकालेका छन्।
खेल्ने क्रममा बालकले निलेको कैँची ल्याप्रोस्कोपी विधिबाट निकालिएको हो।
मोरङ जिल्लामा रहेको नोबेल मेडिकल कलेजका प्रबन्धक दिपेश राईका अनुसार, गत असार १७ गते भर्ना भएका ती बालकको पेटभित्र अड्किएको कैँची ल्याप्रोस्कोपिक सर्जन डा. अमित भट्टराई र डा. दिनेश अधिकारीको टोलीले शल्यक्रिया गरी निकालेको हो। शल्यक्रियापछि बालकको स्वास्थ्य सामान्य बनेको र उनी घर फर्किसकेको राईले जानकारी दिए।
अस्पतालका अनुसार, बालकले घरमा टिभी हेर्दै मुखमा कैँची खेलाइरहेका बेला अचानक घाँटीभित्र छिरेको थियो। सुरुमा घाँटीमा अड्किएको कैँची हजुरबुबाले निकाल्ने प्रयास गर्दा सानो आन्द्रासम्म पुगेको थियो। स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई नोबेल मेडिकल कलेज पुर्याइएको थियो, जहाँ तत्कालै शल्यक्रिया गरी कैँची निकालिएको थियो।