ट्रेन्डिङ

पत्रकार महासंघ मधेश प्रदेशलाई जनकपुरमा भवन बनाउन ४ कठ्ठा जग्गा प्राप्त

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेशले जनकपुरधाम उपमहानगरपालिका–४ स्थित गुठीको ४ कठ्ठा जग्गा आफ्नो भवन निर्माणका लागि प्राप्त गरेको छ।

गुठी संस्थाले कानुनी प्रक्रियाअनुसार आह्वान गरेको बोलपत्रमा महासंघको प्राविधिक र आर्थिक प्रस्ताव स्वीकृत भएपछि यो जग्गा प्राप्त भएको हो। गुठी संस्थान जनकपुरअन्तर्गत रहेको श्री राम मन्दिर गुठीको उक्त जग्गा महासंघलाई लिजमा उपलब्ध गराउने केन्द्रीय गुठी संस्थानले निर्णय गरेको छ।

जग्गा प्राप्त भएपछि अब भव्य भवन निर्माण प्रक्रिया अघि बढ्ने महासंघका अध्यक्ष श्याम प्रसाद बञ्जाराले जानकारी दिए । उनका अनुसार, मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह र भौतिक पूर्वाधार मन्त्री सरोजकुमार यादवले भवन निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

अध्यक्ष बञ्जाराले यो उपलब्धि कठिन परिश्रम र निरन्तर प्रयासको प्रतिफल भएको भन्दै यसमा योगदान पुर्‍याउने केन्द्रीय समिति, विभिन्न नेताहरू, पत्रकार र शुभचिन्तकहरूलाई आभार व्यक्त गरे ।

जग्गा प्राप्तिको क्रममा केही आन्तरिक विरोध र आलोचना भए पनि त्यसले आफूहरूलाई थप दृढ बनाएको र सफलताको शिखरमा पुग्न प्रेरित गरेको अध्यक्ष बञ्जाराले उल्लेख गरेका छन् । उनले ‘आफ्नै मान्छेहरूले समेत नहोस् भनी अवरोध पुर्‍याउने प्रयास गरे पनि पवित्र मनले गरिएको कर्मले फल दिएको’ बताउँदै ती विरोधीहरूलाई पनि धन्यवाद व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै