वीरगन्ज । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीले अन्य राजनीतिक दलका नेताहरूमाथि प्रतिशोध लिने क्रम नरोकेको आरोप लगाएका छन्।
शनिबार राजधानीमा आयोजित एक पार्टी स्कुल कार्यक्रममा बोल्दै पुनले ओलीलाई निरंकुश, स्वेच्छाचारी र प्रतिशोधी प्रवृत्तिको व्यक्तिको संज्ञा दिए।
पुनले ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबाट थालेको प्रतिशोधको श्रृंखला नेपाली कांग्रेस नेतृ तथा वर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवासम्म पुगेर मात्र टुंगिने दाबी गरे। उनले सहकारी ठगी प्रकरणमा रवि लामिछानेलाई थुनेर रास्वपा विभाजन गर्ने नियतका साथ ओलीले कदम चालेको आरोप लगाए।
यस्तै, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई मुद्दा लगाएर सो पार्टीलाई एमालेमा गाभ्ने र उपेन्द्र यादव नेतृत्वको जसपालाई विभाजन गराएर एउटा समूहलाई आफूतिर मिलाउने तयारीमा ओली रहेको दाबी पुनले गरे। उनले भने, ‘हेर्दै जानुस्, कांग्रेस गठबन्धनबाट अलिकति चल्मलाउन थाल्यो भने उहाँले कुनै न कुनै नाममा आरजु राणालाई मुद्दा लगाउने तयारी गर्नुभएको छ।’
पुनले भिजिट भिसा प्रकरणमा रमेश लेखक र टेरामक्स खरिदमा मोहनबहादुर बस्नेतलाई तानेर ओलीले कांग्रेस सभापति शेरबहादुर देउवामाथि दबाब बढाएको दाबी गरे। उनले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमार्फत फसाउने प्रयास ओलीले एक वर्षअघि नै गरेको खुलासा गरे।
प्रचण्डले शेरा दरबारबाट सुरु गरेर यती, ओम्नी, वाइडबडी, बालुवाटार र गिरिबन्धुसहित सबै प्रकरणको छानबिन गर्नुपर्ने बताएपछि ओली चुप लागेको पुनको भनाइ थियो। उनले नेकपाकालमा ओलीसँग तीन वर्ष सँगै काम गरेको अनुभवका आधारमा उनको एकाधिकारवादी, निरंकुश र स्वेच्छाचारी प्रवृत्तिको बारेमा आफूहरू परिचित रहेको बताए।
पुनले ओली सरकारको एक वर्ष भ्रष्टाचार र बेथितिमा बितेको आरोप लगाए। ‘केपी ओली नेतृत्वको सरकारको एक वर्ष भ्रष्टाचार र बेथितिमै बितेको छ। भ्रष्टाचारका एकपछि अर्को काण्ड थपिएको छ,’ पुनले भने, ‘भर्खरै घूस मागेका एक मन्त्रीले राजीनामा दिए। अर्काको फेरि घूस डिल गरेको अडियो सार्वजनिक भएको छ। एक वर्षमा सरकारले बिचौलिया पोस्ने कामबाहेक केही गरेको छैन।