वीरगन्ज । वातावरण संरक्षण र हरियाली प्रवर्द्धनको महत्वपूर्ण उद्देश्यका साथ वीरगन्ज महानगरपालिका–२४ रामगढवास्थित बजरंग हलको पूर्व र पश्चिम किनारामा शनिबार एक वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। यो पहल वातावरणीय सन्तुलन कायम गर्न, प्रदूषण घटाउन र हरित क्षेत्र विस्तार गर्न महत्वपूर्ण मानिएको छ।
कार्यक्रम राष्ट्रिय चुरे–तराई मधेश संरक्षण विकास समिति, वीरगन्ज महानगरपालिका, ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र र ग्रीनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगर–१० को संयुक्त पहलमा आयोजना गरिएको थियो।
जयप्रकाश खेतानको अध्यक्षतामा सम्पन्न यस कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसपी गौतम मिश्रा प्रमुख अतिथिको रूपमा उपस्थित थिए। वीरगन्ज महानगरका प्रहरी प्रमुख हरि भुसाल लगायत अन्य सरकारी तथा गैरसरकारी अधिकारीहरूको विशिष्ट उपस्थिति रहेको थियो। फ्रेन्ड्स क्लव अफ रामगढवाका अध्यक्ष सन्दीप चौरसियाको सक्रिय सहभागितामा करिब ६० वटा विभिन्न जातका बिरुवा सडक छेउछाउमा रोपिएका थिए।