ट्रेन्डिङ

एमाले–एकीकृत समाजवादी एकताको सम्भावना छैन : माधव नेपाल

वीरगन्ज । बामदेव गौतम नेतृत्वको राष्ट्रिय एकता अभियानसँगको पार्टी एकता घोषणा सभामा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउने आफ्नो अभियान जारी रहेको बताएका छन्।

यद्यपि, उनले नेकपा एमालेसँग भने तत्काल एकताको कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन्।

अध्यक्ष नेपालले समाजवादी मोर्चा मार्फत माओवादी, विप्लव नेतृत्वको नेकपा र नेसपासँग सहकार्य भइरहेको जानकारी दिए। उनले विचार, सिद्धान्त, मन र भावना मिलेका समूहहरूसँग मिलेर अगाडि बढ्न सकिने बताए। तर, एमालेप्रति भने उनले कडा टिप्पणी गर्दै आफ्नो पार्टीलाई सिध्याउने षड्यन्त्रमा एमाले रहेको आरोप लगाए। ‘एमालेसँग एकताको कुनै सम्भावना छैन,’ नेपालले भने, ‘त्यहाँभित्रको अवस्था हामीले देखिराखेका छौँ। यो पार्टीसँग उसको सम्बन्धको कुरा गर्नुहुन्छ भने उसका नेताहरूको अभिव्यक्तिले नै प्रस्ट पारिसकेको छ।’ उनले पार्टीमा जिम्मेवारी लिएका नेताहरूले पदअनुसारको आचरण गर्नुपर्नेमा पनि जोड दिए।

एकीकृत समाजवादीमा प्रवेश गरेपछि बामदेव गौतमले आफू सय वर्षसम्म बाँचेर कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउने बताए। ‘चार वर्षपहिले म आउन पाएको भए समाजवाद हुन्थ्यो। किनभने म लागेपछि हुन्छ,’ गौतमले भने। उनले विभाजित कम्युनिष्ट पार्टीहरूलाई एउटै बनाउने प्रयास जारी राख्ने प्रतिबद्धता व्यक्त गर्दै आफू एक्लै नभई ७५ सदस्यीय केन्द्रीय कमिटीको समर्थनसहित एकीकृत समाजवादीमा आएको बताए। एमाले र माओवादीबीचको पूर्व एकता असफल भएकोमा भने उनले दुःख व्यक्त गरे।

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले वामपन्थी एकता अहिलेको आवश्यकता भएको बताए। उनले वामपन्थी एकताका लागि सही नीति र सिद्धान्त आवश्यक रहेको भन्दै सम्पूर्ण वामपन्थीहरूलाई एकताबद्ध गर्नु आजको महत्वपूर्ण कर्तव्य रहेको बताए। खनालले एमाले र माओवादीबीचको एकता नीतिगत कमजोरीका कारण टिक्न नसकेको विश्लेषण गर्दै नेकपा विघटनपछि कम्युनिस्ट आन्दोलन भयावह रूपमा दक्षिणपन्थी अवसरवादमा परिणत भएको आरोप लगाए। उनको बुझाइमा, नेकपा विघटनको दिनदेखि देश चौतर्फी राजनीतिक संकटमा फसेको छ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै