वीरगन्ज । पर्साको विन्ध्यवासिनी गाउँपालिका–३, इटियाहीमा घरेलु हिंसाबाट ज्यान गुमाएकी रजिया खातुनको सम्झनामा स्थापित रजिया स्मृति प्रतिष्ठानले नेपाल स्काउट आधारभूत विद्यालयमा खानेपानी प्रणाली जडान गरेको छ।
यो पहलले विद्यालयका सयौँ विद्यार्थी र शिक्षकलाई स्वच्छ खानेपानीको पहुँच पुगेको छ।
प्रतिष्ठानका अध्यक्ष तथा जसपा नेता तबरेज अहमदले आफ्नै निजी खर्चमा विद्यालयमा खानेपानी प्रणाली जडान गराएका हुन्। यसमा विद्युतीय पानी तान्ने मोटर, १ हजार लिटर क्षमताको पानी ट्याङ्की, पिउने पानीका लागि ५ वटा धारा र शौचालयका लागि ७ वटा अतिरिक्त धारा समावेश छन्।
शुक्रबार आयोजित एक कार्यक्रममा अध्यक्ष अहमदले उक्त खानेपानी प्रणालीको औपचारिक उद्घाटन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुकेश चौरसियालाई हस्तान्तरण गरे। विद्यालयका प्रधानाध्यापक प्रमोद चौरसियाका अनुसार यस प्रणालीबाट करिब ५०० विद्यार्थी र शिक्षक–शिक्षिका लाभान्वित हुनेछन्।
अहमदले बताएअनुसार, रजिया स्मृति प्रतिष्ठान स्वर्गीय रजियाको नाममा स्थापना भएपछि परिवारजनकै आम्दानीबाट बचत गरिएको रकम प्रयोग गरी विभिन्न सामाजिक कार्य गर्दै आएको छ। गत वर्ष पनि प्रतिष्ठानले वीरगन्जका युवा पत्रकार स्व. नरेश सर्राफको स्मृतिमा स्थापित युवा पत्रकारिता पुरस्कारका लागि नगद ५० हजार रुपैयाँ सहयोग गरेको थियो।
तबरेज अहमदका अनुसार, ९ वर्षअघि भारतमा विवाह भएकी रजियाको ससुराली पक्षबाट दिइएको शारीरिक तथा मानसिक यातनाका कारण मृत्यु भएको थियो।