ट्रेन्डिङ

सरकार ढाल्न नयाँ ध्रुवीकरणको दाबी, प्रचण्ड–शेखर र शेखर–विद्या भेटपछि राजनीतिक सरगर्मी तीव्र

वीरगन्ज । नेपालको राजनीतिमा नयाँ समीकरणको चर्चा चुलिएको छ।

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाबीच वर्तमान केपी ओली नेतृत्वको सरकारको विकल्प खोज्ने गरी छलफल अघि बढेको दाबी गरेका छन्।

शेखर कोइरालासँगै हिजो प्रचण्डलाई भेट्न खुमलटार पुगेका सिंहले नयाँ ध्रुवीकरणको गृहकार्य अघि बढिरहेको बताए। उनले भने, ‘देशमा अहिले नयाँ ध्रुवीकरणको आवश्यकता छ। त्यो बुझेर नै नयाँ ध्रुवीकरण भइरहेको छ।’

उनको दाबीअनुसार, अहिलेको कांग्रेस–एमाले गठबन्धनलाई ढालेर कांग्रेस नेता शेखर कोइरालालाई प्रधानमन्त्री बनाउने गरी गृहकार्य भइरहेको छ। यस प्रस्तावित समीकरणमा प्रचण्ड, शेखर कोइराला, पूर्वराष्ट्रपति विद्या भण्डारी, माधव नेपाल, उपेन्द्र यादव लगायतका नेताहरूको सहभागिता रहने र यसका लागि सबै पक्ष सकारात्मक ढंगले वार्तामा रहेको सिंहले बताए।

आज पनि शेखर कोइरालासँग यही विषयमा केन्द्रित रहेर कुराकानी भएको सिंहको भनाइ छ। उनले वर्तमान सरकार चरम भ्रष्टाचारमा डुबेको आरोप लगाए। ‘मन्त्रीहरूको घुस लिएको अडियो सार्वजनिक भइरहेको छ। अडियो सार्वजनिक हुँदा समेत मन्त्रीहरू सरकारमा बसिरहेका छन्। यो भन्दा लाजमर्दो कुरा के हुन्छ?’ उनले प्रश्न गरे।

सिंहले यो सरकारको भण्डाफोर गर्दै अर्को समीकरण बनाउने निष्कर्षमा आफूहरू पुगेको सुनाए। उनले नयाँ समीकरणका लागि आवश्यक संख्या पुर्‍याउन पर्याप्त गृहकार्य भइरहेको पनि जिकिर गरे।

यद्यपि, हिजो प्रचण्डलाई भेटेर आज पूर्वराष्ट्रपति विद्या भण्डारीसँग भेटेका कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले भने नयाँ समीकरणबारे कुनै छलफल नभएको दाबी गरेका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै