ट्रेन्डिङ

रवि लामिछानेको पक्षमा २४ लाख बढीको हस्ताक्षर, अब घरदैलो अभियान

वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेको समर्थनमा सञ्चालित हस्ताक्षर अभियानमा २४ लाख ५७ हजार ६ सय १८ जनाको हस्ताक्षर संकलन भएको जनाएको छ।

पार्टी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता दीपक बोहराले यो अभियानलाई थप सशक्त बनाउँदै लैजाने पार्टीको तयारी रहेको बताए।

बोहराका अनुसार, सरकारले पार्टी सभापति लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधेको आरोप लगाउँदै रास्वपाले असार ७ गतेदेखि यो हस्ताक्षर अभियान सुरु गरेको थियो। अब साउन ५ गतेबाट सभापतिको अपिल र हस्ताक्षर अभियानसहित देशव्यापी घरदैलो कार्यक्रम सञ्चालन गरिने उनले जानकारी दिए।

अभियानलाई थप विस्तार गर्दै केन्द्रीय कार्यालय, प्रदेश, सीमा नाका र विदेशमा समेत बुथ राखेर हस्ताक्षर संकलन गरिने बोहराले बताए। उनले अभियानका लागि हालसम्म ४६ लाख १२ हजार ६ सय ३७ रुपैयाँ सहयोग रकम संकलन भएको जानकारी दिए।

अभियानका संयोजक समेत रहेका बोहराले सभापतिको अपिल र हस्ताक्षर फारम छाप्ने लगायतका कार्यमा अहिलेसम्म ५९ लाख ६८ हजार रुपैयाँ खर्च भइसकेको पनि उल्लेख गरे। यसबाट अभियानमा ठूलो मात्रामा आर्थिक स्रोत परिचालन भएको देखिन्छ।

रास्वपाले आफ्ना सभापतिमाथि न्याय नभएको र सरकारले ‘फसाउन खोजेको’ भन्दै जनसमर्थन जुटाउने प्रयास गरिरहेको छ। यो हस्ताक्षर अभियान र घरदैलो कार्यक्रमले लामिछाने प्रकरणलाई राजनीतिक मुद्दाका रूपमा अझ सशक्त बनाउने देखिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै