वीरगन्ज । वीरगन्जस्थित नेशनल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालले पर्साका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) राधेश्याम धिमाललाई एक विशेष समारोहकाबीच सम्मानपूर्वक बिदाइ गरेको छ।
पर्सामा आफ्नो कार्यकालभरि सामाजिक उत्तरदायित्व र शान्ति सुरक्षामा उल्लेखनीय योगदान पुर्याएको भन्दै कलेज प्रशासनले धिमालको सम्मानमा बिदाइ कार्यक्रम आयोजना गरेको हो।
कलेजका अध्यक्ष प्रोफेसर डा. जैनुदिन अन्सारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कलेजका प्रबन्ध निर्देशक सहनवाज अन्सारी, अस्पताल निर्देशक डाक्टर ईसरत जहाँ अन्सारी, एकाडेमी डाइरेक्टर रुबी श्रेष्ठ यास्मिन, नेशनल मेडिकल कलेजका प्रधानाध्यापक प्रोफेसर डाक्टर के.एन. सिंह लगायत स्थानीय सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्ने वक्ताहरूले एसपी धिमालको पर्सामा बिताएको कार्यकाललाई स्मरणीय रहेको भन्दै वीरगन्जको शान्ति सुरक्षा कायम गर्न उनको भूमिकाको खुलेर प्रशंसा गरे। उनीहरूको भनाइमा, धिमालको कार्यकालमा सुरक्षा व्यवस्था सुदृढ भएको र नागरिक–प्रहरी सम्बन्ध थप मजबुत बनेको थियो।
बिदाइ कार्यक्रमको समापनमा सशस्त्र प्रहरी उपरीक्षक धिमालले नेशनल मेडिकल कलेजप्रति आभार व्यक्त गर्दै सामाजिक संस्थाहरूको साथ र सहयोगले प्रहरी प्रशासनको काम अझ प्रभावकारी बन्ने विश्वास व्यक्त गरे। कलेजका प्रेस सल्लाहकार आशिक अन्सारीले दिएको जानकारी अनुसार, यो बिदाइ समारोह एसपी धिमालको सेवा र समर्पणको कदर गर्दै आयोजना गरिएको थियो।