सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–१ स्थित लखनदेही पुल नजिकै रहेको न्यु माँ राजदेवी खाद्य उद्योग परिसरभित्र ट्रकमा काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।
आज बिहान रौतहटबाट धानको भुस लिन आएको ना.६ ख ७५५० नम्बरको ट्रकमा त्रिपाल हटाउने क्रममा माथिबाट गुज्रिएको ११ हजार भोल्टको विद्युत् लाइनबाट करेन्ट सरेको थियो।
घटनामा रौतहटको बृन्दावन नगरपालिका–७ निवासी ३० वर्षीय दिनेश पासवान गम्भीर घाइते भएका थिए।
उनलाई उपचारका लागि नमुना अस्पताल हरिवन लगिए पनि चिकित्सकहरूले मृत घोषणा गरेका छन्।
प्रहरीका अनुसार दुर्घटनामा २५ वर्षीय कुन्दन पासवान र ४० वर्षीय जागेश्वर पासवान पनि घाइते भएका छन्।
उनीहरू अहिले उपचाररत छन् र अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ।
घटनापछि इलाका प्रहरी कार्यालय नवलपुरबाट प्रहरी सई भरत साहको कमान्डमा खटिएको टोलीले घाइतेहरूको उद्धार गरी अस्पताल पुर्याएको थियो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ भने दुर्घटनामा संलग्न ट्रक नियन्त्रणमा लिएको छ।