सिरहा । जनमत पार्टीभित्रको आन्तरिक विवादले उग्र रूप लिएको छ।
पार्टीका सिरहा इन्चार्ज बिनोद यादवले पार्टीबाट निलम्बित उपाध्यक्ष ई. दिपक साहसहितका नेताहरूलाई ‘भौतिक कारबाही’ गर्ने चेतावनी दिएका छन्। यो चेतावनीसहितको निवेदन जिल्ला प्रशासन कार्यालय सिरहाले दर्ता पनि गरेको छ, जसले अवस्थालाई थप गम्भीर बनाएको छ।
इन्चार्ज यादवले निलम्बित उपाध्यक्ष दिपक साह, कोषाध्यक्ष सुरेन्द्र नारायण यादव र कार्यकारिणी सदस्य शम्भु साहमाथि पार्टीको निर्देशन र सिद्धान्तविपरीत काम गरेको आरोप लगाएका छन्। पार्टीलाई बदनाम गर्न सिरहामा गतिविधि गरिरहेको भन्दै उनीहरूविरुद्ध इन्चार्ज यादवले जिल्ला प्रशासन कार्यालय सिरहामा निवेदन दिएका हुन्। सोही निवेदनमा, यदि पार्टीविरोधी गतिविधि नरोकिएमा भौतिक कारबाही गर्ने स्पष्ट उल्लेख गरिएको छ।
पार्टीबाट कारबाहीमा परेपछि साहसहितका नेताहरूले ‘जनसंवाद यात्रा’ सुरु गरेका छन्। यसै क्रममा बारामा उनीहरूमाथि जनमतकै कार्यकर्ताले मोसो छ्यापेर दुर्व्यवहार गरेका थिए।