ट्रेन्डिङ

विदेशबाट मिनिरल वाटर मगाउने प्रवृत्ति अमानवीय : पूर्वमन्त्री प्रभु साह

वीरगन्ज । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विदेशबाट मिनिरल वाटर मगाएर पिउने शासकहरूले जनतालाई खानेपानी समेत उपलब्ध गराउन नसकेको अवस्थाको कडा आलोचना गरेका छन्।

बुधबार सिंहदरबारस्थित आजपाको संसदीय दलको कार्यालयमा सञ्चारकर्मीहरूसँगको भेटमा उनले यस्तो बताएका हुन्।

साहले भने, ‘प्रकृतिले हामी सबैलाई हावापानी बराबर दिएको छ। त्यसमा सबैको बराबर हक लाग्छ। तर, आफैँ विदेशबाट मिनिरल वाटर मगाएर पिउने प्रधानमन्त्रीजीले नेपाली जनतालाई खानेपानी रोकेर मानवता विरोधी अपराध गर्दै हुनुहुन्छ।’

उनले जनताले तिरेको करबाट आफू महँगो विदेशी पानी पिउने तर सर्वसाधारणलाई सामान्य पानी पनि नदिएर सरकारले के गर्न खोजेको हो भनी प्रश्न गरे।

साहका अनुसार अहिले तराई–मधेशमा पानीको हाहाकार छ, इनार सुकेका छन् र चापाकलबाट पानी आउन छोडेको छ। काठमाडौँको सुकुम्बासी बस्तीमा समेत सरकारले खानेपानी दिन नसक्दा सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरू आन्दोलित छन्।

सुकुम्बासी संघले खानेपानीको माग गर्दै काठमाडौँको त्रिपुरेश्वरस्थित काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)को कार्यालयअगाडि धर्ना दिँदै आएका छन्। साहले सुकुम्बासी बस्तीमा खानेपानीको व्यवस्था गर्नुपर्ने उनीहरूको जायज माग सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै