वीरगन्ज । पूर्वराष्ट्रपति तथा नेकपा एमालेकी नेता विद्यादेवी भण्डारीले आफू राष्ट्रपति हुँदा भएको संसद विघटनको घटनाले भविष्यमा पनि आफूलाई पछ्याइरहने कुरामा जानकार रहेको बताएकी छन् ।
मङ्गलबार मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूले सोधेको प्रश्नको जवाफ दिँदै उनले उक्त निर्णय संविधानले गरेको व्यवस्थाअनुसार नै मन्त्रिपरिषद्को सिफारिसमा कार्यान्वयन गरिएको स्पष्ट पारेकी हुन् ।
‘संसद विघटन विगतको कुरा हो, यसले मलाई पछ्याइरहन्छ भन्ने कुरामा म जानकारै छु,’ उनले भनिन्, ‘२०१७ सालको कुरा पनि इतिहासमा आइरहन्छ, पछि २०५१ मा पनि विघटन भएको छ त्यो पनि आइरहन्छ।’ उनले आफ्नो कार्यकालमा दुईपटक संसद विघटन भएको कुरा पनि इतिहासमा रहने स्वीकार गरिन् ।
तर, उनले यो निर्णय कुनै दबाबमा नभई मन्त्रिपरिषद्ले निर्णय गरेर आएको कुरालाई कार्यान्वयन गरेको र संविधानमा जे व्यवस्था थियो, सोहीअनुसार काम गरेको दोहोर्याइन् ।
संसद विघटनको सदर कुनै दबाबमा नगरेको कुरामा उनले पुनः जोड दिइन् । ‘अब त्यसमा तपाईंहरू छलफलमा भाग लिन चाहनुहुन्छ भने त्यसको संवैधानिक, राजनीतिक र इतिहासका कुराहरू र देशलाई के गरी निकास दिनुपर्थ्यो, कुन बेला के काम गर्नुपर्छ त्यो कुराहरू छलफलको विषय हुनसक्छ,’ उनले भनिन्, ‘यसमा दबाब थिएन।’
भण्डारीले आफूले संवैधानिक विधि र व्यवस्थाअनुसार मन्त्रिपरिषद्ले निर्णय गरेर आएको कुरालाई मात्र कार्यान्वयन गरेको जानकारी गराउन चाहेको बताएकी छन् । उनको यो स्पष्टीकरणले संसद विघटनसम्बन्धी विवादलाई फेरि एकपटक बहसको केन्द्रमा ल्याएको छ ।