वीरगन्ज । मधेश प्रदेशमा गम्भीर खडेरी र खानेपानीको सम्भावित सङ्कटले जनजीवन प्रभावित भइरहेका बेला मुख्यमन्त्री सतिश कुमार सिंहले सङ्घीय सरकार र अन्तर्राष्ट्रिय दातृ निकायहरूसहित सबै सरोकारवाला निकायहरूलाई तत्काल एकताबद्ध प्रयासका लागि आह्वान गरेका छन् ।
मङ्गलबार बिहान सम्बन्धित मन्त्रालय र दातृ निकायहरूसँगको महत्त्वपूर्ण बैठकमा मुख्यमन्त्री सिंहले विद्यमान समस्या समाधानका लागि सामूहिक प्रयास आवश्यक रहेको र यसमा तत्कालका साथै दीर्घकालीन समाधानलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
मुख्यमन्त्री सिंहले छलफल मात्र नभई ठोस कार्यमा जोड दिँदै स्थितिको गम्भीरतालाई उजागर गरे । ‘यो बैठक र निर्णयको मात्र कुरा होइनस के गर्न सकिन्छ, तुरुन्तै सुरु गरौँ,’ उनले भने, नागरिकहरूलाई तत्काल राहत महसुस गराउने गरी द्रुत कदम चाल्नुपर्नेमा जोड दिए । मुख्यमन्त्रीले प्रदेशका सबै १३६ वटै स्थानीय तह खडेरी र खानेपानीको अभावसँग जुझिरहेको जानकारी दिँदै सङ्कटको व्यापकता औंल्याए ।
मुख्यमन्त्री सिंहले दातृ निकायका प्रतिनिधिहरूलाई प्रदेशका नागरिकलाई यो कठिन समयमा सहयोग गर्नका लागि नेतृत्वदायी भूमिका खेल्न हार्दिक अपिल गरे । ‘हाम्रा नागरिक वातावरणीय असन्तुलनका कारण सङ्कटमा छन् । म दातृ निकायहरूलाई खुल्ला हृदयले सहयोग गर्न आग्रह गर्दछु,’ उनले भने । उनले खडेरी र पानी व्यवस्थापनका लागि आवश्यक सहयोगका लागि सङ्घीय सरकारसँग निरन्तर छलफल भइरहेको पनि पुष्टि गरे ।
मुख्यमन्त्रीले खडेरीका कारण धान रोप्न नसकिएमा आगामी दिनमा ठूलो खाद्य अभाव हुन सक्ने गम्भीर चिन्ता व्यक्त गरे । उनले सम्बन्धित मन्त्रालयहरूलाई भविष्यमा खाद्य सङ्कट आउन नदिनका लागि द्रुत गतिमा काम गर्न निर्देशन दिए । ‘अहिलेदेखि नै काम सुरु गरौँ । कहाँ समस्या आउँछ मलाई भन्नुहोस्, तर अब हामी सबै नागरिकलाई यो समस्याबाट बाहिर निकाल्न गम्भीरताका साथ लागौँ,’ मुख्यमन्त्री सिंहले निर्देशन दिए ।
बैठकमा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री जनार्दन सिंह क्षेत्री, गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखी र ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादवसहित प्रमुख प्रदेश मन्त्रीहरूको उपस्थिति थियो । बैठकमा मन्त्रालयगत रूपमा वर्तमान अवस्थाबारे तथ्याङ्क प्रस्तुत गरिएको थियो ।