ट्रेन्डिङ

सर्लाहीमा जिप–मोटरसाइकल दुर्घटना : ५ घाइते, सेनाका सिपाही गम्भीर

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ र १३ को सिमानामा सवारी दुर्घटना भएको छ।

बाँकेस्थित रेल्वे ट्र्याक नजिकै प्र.०३–०२८ प २१९१ नम्बरको मोटरसाइकल र बा ८ च ६५ नम्बरको जिप ठोकिँदा दुई नेपाली सेनाका जवानसहित पाँच जना घाइते भएका छन्।

दुर्घटनाको लगत्तै दुवै सवारी साधनमा आगलागी भएको थियो। आगलागीबाट मोटरसाइकल पूर्ण रूपमा जलेर नष्ट भएको छ भने जिपको अगाडिको भागमा क्षति पुगेको प्रहरीले जानकारी दिएको छ।

घाइते हुनेहरूमा मोटरसाइकल चालक सर्लाही, ईश्वरपुर नगरपालिका–१५ बस्ने २३ वर्षीय चन्द्रदेव धामी, मोटरसाइकलमा पछाडि सवार स्थानीय २२ वर्षीय प्रशेश चौधरी र २१ वर्षीय अमित चौधरी रहेका छन्। चन्द्रदेव धामी भगवती दल गण इटहरीमा कार्यरत नेपाली सेनाका सिपाही हुन् भने प्रशेश चौधरी हाल मध्य पश्चिम पृतना बुटवलमा काजमा कार्यरत छन्।

दुर्घटनापश्चात् भएको आगलागीमा चन्द्रदेव धामीको शरीरको ८५ प्रतिशत भाग जलेर अवस्था गम्भीर रहेको छ।

जिप चालक हरिवन नगरपालिका–३ डाबरी टोल बस्ने ४० वर्षीय रामएकबाल महतो र हरिवन–२ का ६५ वर्षीय लेखनाथ उपाध्याय पनि घाइते भएका छन्।

घाइतेहरूको लालबन्दीस्थित मोडेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। प्रहरीले दुर्घटनाग्रस्त गाडीहरू नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै