ट्रेन्डिङ

जनमतका निलम्बित उपाध्यक्ष दीपक साहमाथि बारामा मोसो प्रहार

बारा । जनमत पार्टीभित्रको आन्तरिक विवाद थप चर्किएको छ। पार्टीबाट निलम्बित राष्ट्रिय उपाध्यक्ष इन्जिनियर दीपक साह र सूर्यनारायण यादवमाथि बारामा मोसो छ्यापिएको छ ।

जनमतका केन्द्रीय सदस्य विकास सिंहको नेतृत्वमा गएका कार्यकर्ताहरूले मोसो छ्याप्दै दुर्व्यवहार गरेका छन्। यो घटना नेता साह र यादवले सुरु गरेको ‘जनसंवाद यात्रा’का क्रममा भएको हो।

जनमत पार्टीबाट कारबाहीमा परेका साह र यादवसहितका अन्य नेताहरूले पार्टीभित्रको आन्तरिक संघर्षलाई उजागर गर्न भन्दै ‘जनसंवाद यात्रा’ सुरु गरेका छन्। यसै क्रममा बारा पुगेका बेला साह र यादव चढेको गाडीलाई सिंहको नेतृत्वमा गएका जनमतका कार्यकर्ताहरूले घेरा हाली कालो मसी छर्केका हुन्।

सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा भिडिओमा साह र यादव गाडीमै रहेका बेला केही युवाले बोतलबाट कालो मसी फालेको र ‘ दीपक साह मुर्दावाद मुर्दावाद’ भन्दै नाराबाजी गरेको देखिन्छ।

यस घटनालाई लिएर जनमत पार्टीका अध्यक्ष सीके राउतमाथि आरोप लागेको छ। स्रोतका अनुसार, राउतले आफ्ना कार्यकर्ताहरूलाई साह लगायत कारबाहीमा परेका नेताहरूको भेलामा सहभागी नहुन र उनीहरूको विरोधमा गतिविधि गर्न निर्देशन दिएका थिए। सोही निर्देशनअनुसार केन्द्रीय सदस्य विकास सिंहको अगुवाइमा उनका कार्यकर्ताले साहमाथि मसी फालेर दुर्व्यवहार गरेको बुझिएको छ।

इन्जिनियर साहले ‘जनसंवाद यात्रा’का क्रममा बारामा आफूमाथि जनमत पार्टीकै कार्यकर्ताहरूले मसी फालेको पुष्टि गरेका छन्। उनले यस घटनाबारे केही बेरमै प्रेस विज्ञप्ति जारी गर्ने बताएका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै