वीरगन्ज । नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्ती वीरगन्जमा विविध साहित्यिक तथा सांस्कृतिक कार्यक्रमका साथ भव्यताका साथ मनाइएको छ।
नारायणी वाङ्गमय प्रतिष्ठान, वीरगन्ज पर्साको आयोजनामा भएको यस कार्यक्रमले नेपाली भाषा, साहित्य र संस्कृतिको गरिमालाई थप उचाइमा पुर्याएको छ।
कार्यक्रमको शुभारम्भ वीरगन्ज बसपार्कस्थित आदिकवि भानुभक्त आचार्यको सालिकमा माल्यार्पण गरी गरिएको थियो। यसले आदिकविप्रति श्रद्धासुमन व्यक्त गर्दै कार्यक्रमको औपचारिक सुरुवात भएको सन्देश दिएको थियो।
त्यसपश्चात, वीरगन्ज पब्लिक कलेजको नयाँ भवनमा वाङ्गमय सम्मान, पुरस्कार वितरण र कवि गोष्ठी लगायतका मुख्य कार्यक्रमहरु सम्पन्न गरियो।
नारायणी वाङ्गमय प्रतिष्ठानकी अध्यक्ष कविता खडकाको अध्यक्षतामा सम्पन्न भएको यस कार्यक्रममा वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह प्रमुख अतिथिका रूपमा उपस्थित थिए। प्रमुख अतिथि सिंहले भानुभक्त आचार्यलाई नेपाली भाषाका शिल्पी मात्र नभई नेपाली पहिचानका मेरुदण्डका रूपमा चित्रण गर्दै, ‘आजको दिन साहित्य, भाषा र संस्कृतिप्रतिको हाम्रो कर्तव्य सम्झने दिन हो। वीरगन्जमा यस्ता कार्यक्रमहरू हुनुले यो शहरको सांस्कृतिक चेतना र साहित्यिक सक्रियता झल्काउँछ,’ भने।
कार्यक्रममा वरिष्ठ पत्रकार जगदीश प्रसाद शर्मा, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरी गौतम, साहित्यकार गणेश लाठ, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओम प्रकाश खनाल, केसि लामिछाने, मधेश प्रदेश महासंघका श्याम बन्जारा लगयातको उपस्थिति रहेको थियो।
यस अवसरमा वीरगन्जका पुराना तथा वरिष्ठ पत्रकार जगदीश प्रसाद शर्मालाई दोसल्ला र प्रशंसा पत्रद्वारा सम्मान गरियो। यस्तै, साहित्यकार गणेश लाठ र राम प्रसाद अधिकारीलाई पनि दोसल्ला, प्रशंसा पत्र र नगद १२,५०० सहित सम्मान गरिएको थियो।