संघीय गणतान्त्रिक गठबन्धनले रौतहटको सदरमुकाम गौरमा असार ३२ गते आयोजना गर्न लागेको वृहत जनजागरण सभालाई भव्य बनाउने तयारी थालेको छ।
यसै सन्दर्भमा गठबन्धनमा आवद्ध पाँच दलका जिल्लास्तरीय पदाधिकारी तथा नेताहरुको महत्वपूर्ण बैठक रौतहटको गडुरामा सम्पन्न भएको छ।
नेपाल जनजागृति पार्टीका केन्द्रीय अध्यक्ष धुपलाल निषादको प्रमुख आतिथ्य र नेपाल संघीय समाजवादी पार्टीका जिल्ला इन्चार्ज लक्ष्मी शाहको अध्यक्षतामा बसेको बैठकले गौर सभालाई ऐतिहासिक बनाउने निर्णय गरेको हो। बैठकमा पाँचवटै दलका केन्द्रीय सदस्य, जिल्ला पदाधिकारी र स्थानीय नेता(कार्यकर्ताको उल्लेख्य उपस्थिति थियो।
गठबन्धनले असार ३२ गतेको कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन गौर नगरपालिकामा नाराबाजीसहितको ब्यानर परिक्रमा गर्ने निर्णय गरेको छ। नगर परिक्रमार्पछि मुख्य कार्यक्रम सम्पन्न हुनेछ।
मुख्य कार्यक्रममा गठबन्धनका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन्। जसमा संघीय गणतान्त्रिक गठबन्धनका संयोजक तथा नेपाल संघीय समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष मोहम्मद रिजवान अन्सारी, बहुजन एकता पार्टीका केन्द्रीय अध्यक्ष हरिनन्दर अम्बेडकर, नेपाल सद्भावना पार्टीका केन्द्रीय अध्यक्ष रामकुमार महतो, नेपाल जनजागृति पार्टीका केन्द्रीय अध्यक्ष धुपलाल निषाद र ऐतिहासिक जनता पार्टीका केन्द्रीय अध्यक्ष बद्री ठाकुरको विशेष उपस्थिति रहनेछ।
गठबन्धनले यस कार्यक्रमलाई मधेशको अधिकार, पहिचान र संघीयता सुदृढीकरणका लागि महत्वपूर्ण मोडका रुपमा लिएको छ। यसै सन्दर्भमा, रौतहट जिल्लाका सम्पूर्ण नागरिक, युवा, महिला, बुद्धिजीवी, श्रमिक, किसान, दलित, आदिवासी, मुस्लिम, निषाद समुदाय, पिछडा वर्ग र सम्पूर्ण समुदायका प्रतिनिधिहरूलाई कार्यक्रममा उत्साहपूर्वक सहभागी भई आफ्नो समर्थन प्रकट गर्न हार्दिक आह्वान गरिएको छ।
कार्यक्रमले लोकतान्त्रिक आन्दोलन, संघीयता, समावेशिता, सामाजिक न्याय र स्थानीय विकासका मुद्दाहरू उठाउने अपेक्षा गरिएको छ। विभिन्न वक्ताहरूले वर्तमान राजनीतिक परिस्थिति, मधेशको अधिकार, केन्द्र र प्रदेश सरकारप्रतिको भूमिका लगायतका विषयमा आफ्ना धारणा राख्नेछन्।