ट्रेन्डिङ

सम्पर्कविहीन रहेका जसपा मधेश प्रदेश अध्यक्षको पार्टीद्वारा बचाउ, मुद्दा फिर्ता नलिए आन्दोलनको चेतावनी

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेश कमिटीले आफ्ना प्रदेश अध्यक्ष अशोक यादव माथि प्रहरीले चलाएको मुद्दा फिर्ता नलिए सङ्घर्षमा उत्रने चेतावनी दिएको छ।

सर्लाहीका एसपीसँग फोनमा भएको गालीगलौज’ जस्ता विवादापछि सम्पर्कविहीन रहेका यादवको बचाउमा जसपा मधेश प्रदेश कमिटीले आज जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै मुद्दालाई ‘झुठा’ भएको दाबी गरेको छ।

घटनाको सुरुवात जसपा प्रदेश अध्यक्ष अशोक यादव र सर्लाहीका प्रहरी प्रमुख एसपी योगेन्द्र कुमार खड्का बीचको गालीगलौजसहितको अडियो सार्वजनिक भएपछि भएको थियो। सो अडियो सार्वजनिक भएपछि प्रहरीले यादवमाथि मुद्दा चलाएर खोजी गरिरहेको छ, जसकारण उनी अहिले फरार छन्।

जसपा मधेश प्रदेशकी उपाध्यक्ष निर्मला यादवले पत्रकार सम्मेलनमा बोल्दै प्रदेश अध्यक्ष यादवले कुनै गल्ती नगरेको दाबी गरिन्। उनले घटनाको पृष्ठभूमिबारे स्पष्ट पार्दै भनिन्, ‘गत बिहीबार पूर्वाधार विकास कार्यालयका प्रमुखले गेटमा ताल्चा लगाएर राति कार्यालय सञ्चालन गर्दा प्रहरीले सुरक्षा दिएको थियो। सो विषयमा बुझ्न खोज्दा एसपीले नै ुमधेशी हो भनेर हेपेका थिए।’

उपाध्यक्ष यादवले प्रहरी प्रमुख एसपी खड्काले नै गल्ती गरेकाले उनलाई नै कारबाही गर्नुपर्ने माग समेत गरेकी छन्। उनले प्रशासनलाई ‘झुठा मुद्दा’ तत्काल फिर्ता लिन आग्रह गर्दै अन्यथा पार्टी आन्दोलनमा उत्रने चेतावनी दिएकी छिन्।

जसपाले यसलाई ‘मधेशीमाथिको हेपाह प्रवृत्ति’को रूपमा चित्रण गर्दै क्षेत्रीय पहिचानको मुद्दालाई फेरि उठाउने प्रयास गरेको देखिन्छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै