वीरगन्ज । नेपालको कम्युनिष्ट आन्दोलनमा अर्को महत्त्वपूर्ण घटनाक्रमका रूपमा नेकपा एकीकृत समाजवादी र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबीच पार्टी एकता गर्ने सहमति भएको छ।
दुवै पक्षका अध्यक्ष, माधवकुमार नेपाल र वामदेव गौतमले शुक्रबार यससम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका छन्। साउन २ गते औपचारिक रूपमा एकता घोषणा गरिने सहमतिपत्रमा उल्लेख छ।
सहमतिपत्रमा भनिएको छ, ‘राजनीतिक दर्शन, सिद्धान्त, कार्यक्रम, रणनीति र कार्यदिशामा एकरूपता रहेको र नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्ने आजको ऐतिहासिक आवश्यकतालाई ध्यानमा राख्दै एकताबद्ध हुने सहमति गरियो।’ यसले दुई पार्टीबीचको वैचारिक निकटता र विभाजित कम्युनिष्ट शक्तिहरूलाई एकै ठाउँमा ल्याउने प्रयासको रूपमा यस एकतालाई चित्रण गरेको छ।
गौतमलाई तेस्रो वरीयता दिएर पार्टीमा भित्र्याउने सहमति भएको एक नेताले बताए । उनले भने, ‘हामीले उहाँलाई अध्यक्ष र सम्मानित नेतापछि तेस्रो वरियता दिने सहमति भएको छ । यो पत्रमा नखुलाइएको मात्रै हो । उहाँलाई वरिष्ठ नेता पद दिन्छ ।’ अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनालपछि वरीयताको हिसाबमा गौतम हुने ती नेताले बताए ।
२०७७ सालमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन हुँदा वामदेव गौतमले ‘नेकपा एकता अभियान’ घोषणा गर्दै तटस्थ भूमिका खेल्दै आएका थिए। नेकपा विभाजनपछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग भएका थिए भने २०७८ मा माधव नेपालले नेकपा एमालेबाट छुट्टिएर नेकपा एकीकृत समाजवादी गठन गरेका थिए। त्यसयता, कहिले एमालेसँग त कहिले एकीकृत समाजवादीसँग एकता गर्ने चर्चामा रहेका गौतम अन्ततः माधव नेपाल नेतृत्वको पार्टीसँग एकता गर्न सहमत भएका हुन्।