कलैया । बाराको लोकप्रिय रेडियो विश्वास एफएम आजदेखि आफ्नो ११ औं वर्षमा प्रवेश गरेको छ।
यस अवसरमा रेडियोले जीतपुर सिमरा उपमहानगरपालिका–७ स्थित संजीवनी वाटिका (वृद्धाश्रम)लाई दुई थान फलामे बेन्च र विभिन्न खाद्यान्न सामग्री सहयोगस्वरुप हस्तान्तरण गरेको छ।
विश्वास एफएमका अध्यक्ष प्रियंका दास ले रेडियोले आफ्नो वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व बहन गर्दै वृद्धाश्रमलाई सहयोग गरेको जानकारी दिइन् । वृद्धाश्रमका संस्थापक एवं नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री फरमुल्लाह मन्सुरले सञ्चार माध्यमले ज्येष्ठ नागरिकको सम्मानमा देखाएको यस कार्यको प्रशंसा गर्दै आफू अत्यन्तै प्रभावित भएको बताए । उनले रेडियोको उत्तरोत्तर प्रगतिको कामनासमेत गरे ।
वि.सं. २०७२ साल असार २७ गतेदेखि प्रसारण सुरु गरेको विश्वास एफएमले विगत १० वर्षदेखि भुइँ तहका आवाजविहीनहरूको आवाज बन्दै निरन्तर सेवा दिइरहेको छ। ५०० वाटको ट्रान्समिटरबाट दैनिक १८ घण्टा प्रसारण सुरु गरेको रेडियोले हाल पनि सोही समय तालिकामा आफ्नो सेवा जारी राखेको छ।
विश्वास एफएमले हाल दुई भाषामा समाचार र तीन भाषामा विभिन्न कार्यक्रमहरू प्रसारण गर्दै आएको छ। श्रोतामाझ थप पहुँच पुर्याउन रेडियोले आफ्नो प्रसारणलाई अनलाइन र मोबाइल एपमार्फत पनि सुन्न सकिने व्यवस्था गरेको छ।
सो अवसरमा एफएमका प्रबन्ध निर्देशक साजिर मन्सुर, नेपाली कांग्रेसकी नेतृ मेघा शाही, नेपाली कांग्रेस निर्वाचन क्षेत्र नम्बर ३ का सचिव राजेश भण्डारी, एफएमका कार्यक्रम संयोजक सज्जाद अन्सारी, बजार प्रमुख भुवन यादव, शिल्पा कुशवाहा, राकेश ठाकुर, शेखर भण्डारी, नेविसंघका नेता सागर पटेल, अफरोज आलम, ओसी अहमद अन्सारी, हारुण अन्सारी लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।