वरिगन्ज । आगामी अक्टोबरमा ओमानमा हुने आईसीसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह २ मा परेको छ।
यस समूहमा नेपालले कुवेत र जापानसँग प्रतिस्पर्धा गर्नेछ। कुल ९ टोली सहभागी यस प्रतियोगितामा तीन समूह बनाइएको छ।
प्रतियोगितामा सहभागी ९ टोलीलाई निम्नानुसार तीन समूहमा विभाजन गरिएको छ ।
समूह १ : युएई, मलेसिया र कतार
समूह २ : नेपाल, कुवेत र जापान
समूह ३ : आयोजक ओमान, पपुवा न्यूगिनी र सामोआ
हरेक समूहबाट शीर्ष दुई टोलीले सुपर सिक्स चरणमा स्थान बनाउनेछन्। सुपर सिक्सको अन्त्यमा शीर्ष तीन टोलीले सन् २०२६ मा भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुने आईसीसी पुरुष टी–२० विश्वकपमा सिधा स्थान बनाउनेछन्।
यो महत्त्वपूर्ण छनोट प्रतियोगिता अक्टोबर ८ देखि १७ सम्म ओमानमा सञ्चालन हुनेछ। १० दिनसम्म चल्ने यस प्रतियोगितामा नेपालसहित ओमान, युएई र पपुवा न्यूगिनी जस्ता टी–२० विश्वकप खेलिसकेका अनुभवी टोलीहरू सहभागी छन्। नेपालका लागि समूह चरणमा कुवेत र जापानसँगको भिडन्त सुपर सिक्समा पुग्नका लागि महत्त्वपूर्ण हुनेछ।